शिक्षा

आयुर्वेद चिकित्साको दिर्घकालिन योजना लागु गर्ने अन्तिम तयारीमा रहेको मन्त्री बरालद्वारा जानकारी,



बुटवल, १६ वैशाख । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण बढ्दै गएको तनाव व्यवस्थापन तथा प्रतिरोधात्मक क्षमता बढाउन प्रदेश ५ सरकारले आयुर्वेद चिकित्सा विज्ञानलाई अग्रपंतिमा ल्याउने तयारी गरेको छ । मन्त्रालयले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आयुर्वेद चिकित्सा क्षेत्रलाई दीर्घकालीन रुपमा अगाडि बढाउने गरी कार्ययोजना बनाइएको बताउनु भयो । 

        विश्वका कतिपय मुलुकले कोरोनासँग लड्नका लागि आयुर्वेद चिकित्सा पद्धतिलाई अंगीकार गरेको र सफल हुँदै गएको पाइएपछि प्रदेश ५ सरकारले यसलाई दीर्घकालीन योजनासहित अगाडि बढाउन खोजेको हो ।प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रका चिकित्सकलाई कोरोनाको लडाईंमा परिचालन गर्ने जनाएको छ । आयुर्वेद चिकित्सामार्फत् मानिसको रोगसँग प्रतिरोधात्मक क्षमता बढाउनका लागि उनीहरुलाई परिचालन गर्न लागेको मन्त्रालयले जनाएको हो ।

        आयुर्वेदिक औषधिको सेवनले मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै तनाव व्यवस्थापनको कामसमेत गर्ने उल्लेख गर्दै अहिलेबाटै आयुर्वेद चिकित्सालाई अग्रपंतिमा राखेर काम गर्न लागिएको उहाँले बताउनु भयो । मन्त्रालयले जारी गरेको श्रोत सामाग्रीमा कोरोना भाइरसका संक्रमित तथा संभावित क्षेत्रबाट आएका व्यक्तिहरुलाई निगरानीस्थलमा तथा एकान्तबासमा बस्ने, कोरोना भाइरस संक्रमण पुष्टि भएका लक्षण नदेखिएका वा सामान्य लक्षण देखिएका व्यक्तिहरुलाई मनोसामाजिक परामर्शका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका (आहार विहार, योग, ध्यान, नृत्य, हास्य विधि) तथा स्थानीय स्तरमा उपलब्ध जुडिबुटिबाट निर्मित औषधिको सेवनमा प्रोत्साहित गर्नु रहेको जनाएको छ ।

        त्यसका लागि जिल्लामा मनोचिकित्सक र योग प्रशिक्षकको जनशक्ति पहिचान गर्ने काम भइरहेको बताइएको छ । प्रदेश सरकारले प्रदेश र साविकका अञ्चल स्तरका चिकित्सालयलाई केन्द्रित गरी भौतिक पूर्वाधार, औषधि, उपचार सामग्री र जनशक्ति व्यवस्थापनमा काम गरिरहेको मन्त्री बरालले बताउनु भयो । मन्त्री बरालले जिल्ला स्तरका आयुर्वेदहरुलाई ११ लाख रुपैयाँ निकासा गरी सबै ठाउँमा पठाईसकेको बताउनु भयो ।

        उहाँले प्रदेश ५ को बुटवल र दाङमा आयुर्वेद औषधि उत्पादन गर्ने गरी काम अगाडि बढाएको समेत जानकारी दिनुभयो । बरालले भन्नुभयो–  ‘आयुर्वेदको प्रोटोकल बनाउन लागेको छौ’ प्रदेश ५ मा एउटा प्रादेशिक आर्युवेद चिकित्सालय, २ वटा अञ्चल तहको, ८ वटा जिल्ला तहको र ३९ स्थानीय तहमा ५४ वटा आयुर्वेदक केन्द्रहरु रहेका छन् ।

        मनोचिकित्सक तथा योग प्रशिक्षकहरुलाई समेत समेटेर होम क्वारेन्टाइन, क्वारेन्टाइनमा रहेका आम नागरिक, त्यसमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई उपयुक्त आहार विहार, योग ध्यान, नृत्य, हास्य विधि तथा घरेलु औषधिजन्य वनस्पतीको उपयोगबाट रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गराउनुको साथै पेशागत तनाब व्यवस्थापनमा सहजीकरण गर्ने छन् ।आयुर्वेद चिकित्सक डा. पुष्पराज पौडेलले आयुर्वेदिक चिकित्सामार्फत् कोरोना नियन्त्रण सम्भव हुने भएकाले प्रदेशमा पहिलोपटक आयुर्वेद स्वास्थ्यकर्मीलाई परिचालन गर्न लागिएको बताए । कोरोनाको तनाब व्यवस्थापन, निगरानी स्थल, एकान्तबासमा रहेका सर्वसाधरण तथा ती स्थलमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई, तनाव व्यवस्थापन, रोग प्रतिरोधात्मक उपायहरु, सरसफाईका उपायहरु, सामाजिक दूरी राख्ने लगायतका विषयमा जानकारी गराउने विधिकोबारेमा उनीहरुलाई परिचालन गर्ने डा पौडेलले बताए ।

     मन्त्रालयका सचिव डा. गोपीकृष्ण खनाल, मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डा. उमाशंकर चौधरीलगायतले आयुर्वेद र त्यस्का बारेमा छलफल गरेका थिए ।सामाजिक विकास मन्त्रालयले ‘आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापन सन्दर्भमा स्रोत सामग्री–२०७७’ समेत जारी गरेको छ । पत्रकार सम्मेलनमा सहभागी पत्रकारले आयुर्वेद चिकित्सा विज्ञानलाई दीर्घकालीन रुपमा अगाडि बढाउन आग्रह गरेका छन् । 

प्रकाशित : १६ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६