अर्थ-वाणिज्य

५नं. प्रदेशका कृषकलाई मल र बीउको चिन्ता



लमही, २३ बैशाख । यतिबेला दाङका कृषक बीउ र मल जुटाउन लागिपरेका छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन गरिएका कारण समयमा मल र बीउ नपाउने चिन्ता कृषकलाई छ । हिउँदे बाली गहुँ, तोरी, मसुरो भित्र्याएका किसान बर्खे खेतीका लागि मल र बीउको अभाव हुने डरले अहिलेदेखि नै जोहो गर्ने तयारीमा लागेका हुन् ।

            समयमै वर्षा भएपछि खेतबारी जोतेर कृषक मकै र  तरकारी बाली लगाउने तयारीमा छन् तर लकडाउनका कारण बीउ र मल जुटाउन भने समस्या भएको उनीहरु बताउँछन् । कृषकले बजारका विभिन्न एग्रोभेटमा बर्खे तरकारी बोडी, सिमी, काँक्रा, लौका तथा मकैको  बीउ तथा रासायनिक मलको खोजीका लागि दौडधूप गरेका छन् ।  ‘‘ बारी जोतेर तयार छ, मकैको बीउ किन्न बजार आएको हुँ बजार भने बन्द रहेछ’’, बीउ र मल खोज्न आउनुभएका कृषक सुन्दरकुमार चौधरीले भन्नुभयो  । उहाँले घरमा अदुवा, बेसार र  पिँडालु  लगाउनाका साथै गोठेमल बोकेर सकिएकाले अब मकै रोप्ने तयारी गरिएको बताउनुभयो ।  कृषक आकाश वलीले मकै र धान बालीका लागि मलको जोहो गर्न लागिएको बताउनुभयो । ‘‘रासायनिक मल त बजारमा छ भन्छन् तर लकडाउनका कारण कसरी ल्याउने हो। समस्या छ’’ उहाँले भन्नुभयो ।  

            उहाँ जस्तै कृषक माया पुनले पनि बजारबाट मकैको बीउ किनेर ल्याएको र अब मकै लगाउने तयारी गरिएको बताउनुभयो । पुनले बिहान बजार खुलेका समयमा एग्रोभेटबाट तरकारी र उन्नत मकैको बीउ ल्याउनुभयो  । लकडाउनका कारण बजारका एग्रोभेट बन्द हुुँदा मकैको बीउ खरिद गर्न नपाइएको  कृषक रमेश केसीले गुनासो गर्नुभयो । बिहान अत्यावश्यक पसल खोल्न दिने निर्णयसँगै एग्रोभेट पसल आंशिक रुपमा खुले पनि धेरैजसो बन्द छन् । जिल्लाका कृषकले जेठको पहिलो सातादेखि मकै छर्न शुरु गर्ने तयारी गरेका छन् । 

            यस वर्ष लकडाउन भए पनि हालसम्म रासायनिक मलको अभाव देखिएको छैन । अनुदानको मल ढुवानी र वितरणको जिम्मा लिएको कृषि सामग्री लिमिटेडले जिल्लामा रासायनिक मल प्राप्त भएको र सहकारीलाई  दैनिक मल वितरण गर्दै आएको  लिमिटेड तुलसीपुरका प्रमुख तीर्थ न्यौपानेले जानकारी दिनुभयो ।  मकै बाली लगाउने समय शुरु भएको र कृषकले पनि त्यसको तयारीस्वरुप बीउ र मलको जोहो गर्न थालेको कृषि प्राविधिक माधव केसी बताउनुहुन्छ ।  यता स्थानीय निकायमा  रहेका कृषि सेवा केन्द्रले पनि किसानका लागि अनुदानमा मकैको बीउ धान वितरणका लागि तयारी गरेका छन् । केन्द्रले कृषकलाई आवश्यक पर्ने बीउका लागि लगत संकलन गरेको र केही दिनभित्र ५० प्रतिशत अनुदानमा वितरण गर्ने तयारी गरेको जनाइएको छ ।

 (रासस)

प्रकाशित : २३ बैशाख २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६