गण्डकी

कास्कीमा फ्रि मिडिया नेटवर्क गठन



कास्की, १५ जेठ ।  सञ्चार क्षेत्रका सरोकारवाला, राज्यपक्ष, नागरिक समाज र पत्रकारका बीचमा नियमित संवाद र पत्रकार सुरक्षाविरुद्धका घटना न्यूनीकरणको उद्देश्यसहित जिल्लामा पहिलोपटक ‘फ्रि मिडिया नेटवर्क’ गठन गरिएको छ ।

            पत्रकार महासङ्घ केन्द्रको निर्णयअनुसार पत्रकार महासङ्घका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा बुधबार १५ सदस्सीय नेटवर्क जिल्ला कार्यसमिति गठन गरिएको हो । सदस्यमा गण्डकी प्रदेशसभाका सदस्य मीना गुरुङ, जिल्ला समन्वय समितिका सदस्य सीतादेवी विक, स्थानीय जनप्रतिनिधि धनबहादुर नेपाली, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत लक्ष्मण बराल, जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारी, पत्रकार महासङ्घका पूर्वअध्यक्षद्वय पुण्य पौडेल, रवीन्द्र बाँस्तोला र जिल्ला बारका अध्यक्ष मुक्ति सापकोटा रहनुभएको छ ।

            त्यसैगरी राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधि टङ्क खनाल, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष बलराम ढकाल, एनजिओ फेडेरेशनका अध्यक्ष पदम पहारी, इन्सेकका सवनम शर्मा, महिला मानवअधिकार रक्षकका अध्यक्ष तारामाया थापा र  नागरिक समाजका तर्फबाट बीना सिलवाल नेटवर्कको सदस्य हुनुहुन्छ ।

         पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट तथा केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली नेटवर्कको सल्लाहकार रहनुभएको छ । कास्कीसहित मोरङ, धनुषा, सर्लाही, मकवानपुर, दाङ र सुर्खेतमा नेटवर्क गठन गरिने र यी जिल्लामा नेटवर्कको सफलताको आधारमा भविष्यमा अन्य जिल्लामा समेत गठनको लक्ष्य रहेको महासङ्घले जनाएको छ ।

         पत्रकारको सुरक्षाविरुद्धका घटना राज्यपक्षबाट मात्र नभइ विभिन्न क्षेत्रमा आवद्ध भएकाबाट समेत भएकाले यस्ता घटना न्यूनीकरण र असहज अवस्थाको अन्त्यका लागि सञ्चार क्षेत्रका विभिन्न सरोकारवालाबीच नियमित संवादको आवश्यकता रहेकाले महासङ्घले केन्द्र र जिल्लास्तरमा स्थान निर्माणका लागि नेटवर्क गठन गरिएको महासङ्घका केन्द्रीय अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

         प्रेस स्वतन्त्रता, मिडिया सुरक्षा र व्यावसायिकताका बारेमा पहिचानमा आएका चुनौतीको अन्य सञ्जालसँग मिलेर कार्ययोजना बनाउने, पत्रकारको भौतिक सुरक्षा सुनिश्चित गर्नका लागि छलफल गरी निश्कर्ष निकाल्ने तथा मिडियामा आएका समाचारका बारेमा छलफल गरी सुधार गर्नु नेटवर्कको काम हुनेछ ।

         पत्रकार र अन्य मिडिया सरोकारवालाबीच समन्वयकारी भूमिका खेल्ने, प्रेस स्वतन्त्रता उल्लङ्घनका घटना भएको अवस्थामा त्यसलाई पुष्टि गरी अभिलेख गर्ने, घटनाको स्वतन्त्र अनुगमन गर्ने, आन्दोलन तथा द्वन्द्वका अवस्थामा पत्रकार सुरक्षाको अनुगमनलगायत काम नेटवर्कले गर्ने जिल्ला संयोजक श्रेष्ठले जानकारी दिनुभयो । (रासस)

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६