अर्थ-वाणिज्य

लकडाउनमा प्रभावितलाई राहत लिन श्रम गर्नुपर्ने



पाँचथर, १६ जेठ ।  पाँचथरको तुम्बेवा गाउँपालिकाले लकडाउनबाट प्रभावितलाई राहत लिन श्रम गर्नुपर्ने कार्यक्रम सञ्चालनमा ल्याइएको छ । गाउँपालिकाले लकडाउन प्रभावितलाई दोस्रो चरणको राहत उपलब्ध गराउन ‘कामका लागि खाद्यान्न’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

            कमजोर आर्थिक अवस्थाका तथा लकडाउनको प्रभावका कारण दैनिकी गुजार्न समस्यामा परेका गाउँपालिकावासीलाई राहत उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । यस कार्यक्रमअन्तर्गत सार्वजनिक स्थान तथा सडकको मर्मत, ग्रामीण सडकमा नाली निर्माण, सडकका खाल्डाखुल्डी पुर्नेलगायत काम तय गरिएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले जानकारी दिनुभयो । राहत लिन चाहनेले उक्त कार्यक्रमअन्तर्गत श्रम गर्न थालेपछि राहत पाउन थाल्नेछन् ।

             लकडाउनबाट प्रभावित तथा कमजोर आर्थिक अवस्थाका करिब एक हजार घरपरिवारलाई उक्त कार्यक्रममा समावेश गर्ने लक्ष्य लिइएको गाउँपालिका अध्यक्ष थापाले बताउनुभयो । उक्त कार्यक्रममा लकडाउन प्रभावितमध्ये सामान्य आर्थिक अवस्थाको परिवारका एक जना तथा कमजोर आर्थिक अवस्थाको परिवारका दुई जनासम्म व्यक्तिलाई सहभागी हुने अवसर दिइनेछ । उक्त कार्यक्रममा सहभागी हुनेले दैनिक सात किलोका दरले चामल प्राप्त गर्ने गाउँपालिका अध्यक्ष थापाको भनाइ छ । कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले २०० टन चामल मौज्दात राखेको उहाँले बताउनुभयो । 

        बन्दाबन्दीको दुई महिनाभन्दा लामो समय बितिसक्दा कमजोर आर्थिक अवस्थाका गाउँपालिकावासीको जीविकोपार्जनमा समस्या परेको भन्दै गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । पाँच वडा रहेको गाउँपालिका सुक्खा र गरिबीको चपेटासँग जुधिरहेको छ । सुक्खाका कारण यहाँ स्थानीयवासीले कृषि उपज उत्पादन तथा पशुपालनको विकल्पमा विकास निर्माणमा दैनिक ज्यालादारी गर्न थालेका थिए । लकडाउनका कारण दैनिक ज्यालादारीका कामसमेत अवरुद्ध भएपछि गाउँपालिकाले श्रम गर्ने कार्यक्रम सञ्चालनमा ल्याएको हो । (रासस) 

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६