अर्थ-वाणिज्य

लुम्विनीका ४ जिल्लामा प्रहरी कमाण्डर फेरिए : भैरहवा विमानास्थलको प्रमुखमा थेबे



कपिलवस्तु ९ मंसिर । नेपाल प्रहरीका ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा हुँदा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला तथा महत्वपूर्ण प्रहरी कार्यालयहरूमा नेतृत्व फेरबदल भएको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागको मंसिर ८ गतेको निर्णयअनुसार प्रदेशका चार जिल्ला प्रहरी कार्यालयसहित अन्य सुरक्षा निकायमा नयाँ प्रमुखहरू पठाइएको हो। सरुवा सूचीअनुसार लुम्बिनी प्रदेशका बाँके, दाङ, पाल्पा र बर्दिया जिल्लाको प्रहरी नेतृत्व परिवर्तन भएको छ। जसअनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा नवराज मल्ल, दाङमा श्यामु अर्याल, बर्दियामा बाल नरसिंह राणा र पाल्पामा रबिन श्रेष्ठलाई पठाइएको छ। मल्ल यसअघि जिल्ला प्रहरी कार्यालय सप्तरी दरबन्दी भई नक्सालमा कार्यरत थिए भने अर्याल गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, राणा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी र श्रेष्ठ कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत थिए।
यसैगरी, लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानवस्रोत व्यवस्थापन महाशाखा दाङमा नक्सालस्थित इन्टरपोल शाखाबाट ध्रुव कुमार श्रेष्ठको सरुवा भएको छ। रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवाको प्रमुखमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट केशव कुमार थेवेलाई पठाइएको छ भने नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल (रुपन्देही) मा जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीबाट युवराज खड्कालाई खटाइएको छ। अर्कोतर्फ, लुम्बिनी प्रदेशका विभिन्न कार्यालयमा कार्यरत एसपीहरूको पनि अन्यत्र सरुवा भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जि.सी.लाई साइबर ब्यूरो भोटाहिटी काठमाडौँ, दाङका दीपक श्रेष्ठलाई विशेष सुरक्षा गण रातमाटे मकवानपुर, बर्दियाका सरोज पौडेललाई गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र पाल्पाका दिपेन्द्र पंजियार थारुलाई विशेष सुरक्षा गण ढल्केबर धनुषा पठाइएको छ।
त्यस्तै, लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका यादव ढकाललाई जिल्ला प्रहरी कार्यालय कैलाली, भैरहवा विमानस्थल सुरक्षा कार्यालयका पुष्प राज मल्ललाई जिल्ला प्रहरी कार्यालय सुनसरी र विशेष सुरक्षा गण सुनवलका डिल बहादुर मल्ललाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत दरबन्दी राखी गृह मन्त्रालयमा काज सरुवा गरिएको छ।

प्रकाशित : १० मंसिर २०८३, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६