भैरहवा, २१ जेठ । अभिनेत्री मनीषा कोइराला मङ्गलबार रुपन्देहीको सीमा नाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गर्नु भएको छ । कोइरालाका परिवारिक सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गरेपछि काठमाण्डौ प्रस्थान गर्नु भएको हो ।
भारतबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र परिवारको स्वास्थ्य परीक्षण गरेका थिए । नेपाल–भारत लिपुलेक, कालापानी, लिप्पियाधुरा सीमा विवाद चर्किरहेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा कोइरालाको प्रशंसा भइरहेको छ ।
कोइरालाले भारत र नेपाली चलचित्रमा दशकौँदेखि अभिनय गर्दै आउनु भएको थियो । भारतीय मिडियाहरुले अभिनेत्री कोइरालाका विषयमा लिएर अनरगल प्रचार गरेका थिए । भारतीय मिडियाहरुले कोइरालालाई तुच्छ आरोप समेत लगाउन पछि परेका थिएनन् ।
भारतले कालापानी क्षेत्र समेटिएको नक्सा सार्वजनिक गरेपछि त्यसप्रति आपत्ति जनाउँदै नेपालले वार्ताको प्रस्ताव गरेको थियो। तर भारतले लिपुलेक क्षेत्रमा सडक निर्माण गरेर उद्घाटन गरेको सार्वजनिक गरेपछि नेपालको असन्तुष्टि थप चुलियो ।
प्रतिक्रिया