कपिलवस्तु २१ जेठ । पश्चिम रुकुममा भएको जातिय नरसंहार भनिएको घटनामा सत्तारुढ दल नेकपाको कपिलवस्तु जिल्ला नेतृत्वले आफ्नो प्रतिकृया सार्वजनिक गरेकोछ । जातिय भेदभाव तथा छुवाछुत विरुद्धको राष्ट्रिय दिवसको अवसरमा नेकपा कपिलवस्तुले विज्ञप्ती मार्फत दिवसको पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दै विभेदको शिघ्र अन्त्यमा जोड दिएको छ । नेकपा कपिलवस्तुका जिल्ला अध्यक्ष झविलाल पोख्रेल र जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) द्धारा जारी संयुक्त प्रेस विज्ञप्ती मार्फत नेपालको संविधानले जातीय भेदभावको अन्त्य गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सबै तहका सरकार र सरोकारवाला पक्ष संवेदनशिल हुनु आग्रह गरिएको छ ।
समाजमा रहेको मानव मानव बीचको बन्धुत्व, भाइचाराको बाधक जातीय भेदभाव २१ आंै शताब्दीका निम्ति चुनौती बन्दै गएको चर्चा गर्दै सिंगो समुदायको समृद्धिका निम्ति समेत जातीय भेदभाव बाधक बन्ने उल्लेख गरिएको छ । परिवर्तित विद्यमान नेपाली समाजमा दलित समुदायले भोगेको जातीय विभेद र छुवाछुतका नृकृष्ट घटना, सामाजिक चिन्तनका सवालमा देखिएका समस्याका सन्दर्भमा पार्टीको समयमै त्यस तर्फ ध्यानाकृष्ट गर्ने गरेको स्पष्ट पारिएको छ ।
जातीय छुवाछुत, विभेद र यसबाट पर्ने पिडा एउटा निश्चित समुदायको मात्र नभई हरेक ब्यक्ति, परिवार, समाज र सिंगो राष्ट्रको समस्याको रुपमा रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । जारी विज्ञप्तीमा कथित अछुतको नाममा कर्मयोगी, परिश्रमी, सोझा, इमान्दार ब्यक्तिहरुको अपमान र भेदभावको समेत अन्त गर्न सरकार र सरोकारवाला सबैको ध्यान जानु पार्नेमा जोड दिएको छ ।
विज्ञप्तीमा जातिय भेदभाव तथा छुवाछुत विरुद्धको राष्ट्रिय दिवसले सबै जात जाती, भाषा, भाषि बीच जातिय एवम् सबै खाले विभेद अत्यका निम्ति सबैमा प्रेरणा प्रदान गर्ने विश्वास एवम् शुभेच्क्षा प्रकट गर्दछौं भनिएको छ । यसै विज्ञप्ती मार्फत हालै घटेको रुकुम, जाजरकोट घटना प्रति घोर भ्रर्सना गर्दै सरकारसंग दोषीमाथी हदै सम्मको कडा कारवाहीको माग गरिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण बेल्बासेले जानकारी दिनु भयो ।
प्रतिक्रिया