अर्थ-वाणिज्य

एउटै टोलले बन्दाबन्दीमा पनि खरबुजाबाट कमायो ५० लाख



झापा, ३२ जेठ ।  झापाको मेचीनगर नगरपालिका–९ खुट्टेडाँगीको एउटै टोलका किसानले बन्दाबन्दीको अवधिमा खरबुजा फलाएर रु ५० लाख आर्जन गरेका छन् । विगतमा प्रायः खोलाको बालुवामा खरबुजा खेती हुने गरेको थियो तर खुट्टेडाँगीका अगुवा किसान डिल्लीप्रसाद उप्रेतीले गत वर्ष धान र मकैखेती हुने जग्गामा समेत खरबुजा फल्छ भनेर प्रमाणित गरिदिएपछि टोलवासी खरबुजा खेतीमा उत्साहपूर्वक लागे । 

        यस वर्ष घरैपिच्छे गरिएको यो खेतीले स्थानीयवासीको आम्दानीस्तर ह्वात्तै उकासेको छ । उप्रेती आफैँले पनि रु १५ लाखको खरबुजा बिक्री गरेको बताउनुभयो । हरेक घरले कम्तीमा रु एक लाख र बढीमा रु १० लाखसम्म नाफा आर्जन गरेको किसानको नेतृत्व गरेका उप्रेतीले बताउनुभयो ।

        डिएण्डडी वायो प्लानटेक नामक संस्थामार्फत उप्रेतीले एक्लै खुरबुजा खेतीबाट लाखौँ आर्जन गरेको देखेर सिको गर्दै उहाँका छिमेकीहरुले यस वर्ष खरबुजा खेती गरेका हुन् । उप्रेतीका अनुसार टोलका एक दर्जन किसानले गरेको खरबुजा खेतीबाट रु  ५० लाख आम्दानी भएको छ ।

        डिएण्डडी वायो प्लानटेक नामक संस्थाबाटै टोलवासीले खरबुजाको बिरुवा लगेर आफ्ना बारीमा रोपेका थिए । विगतमा मकैखेती हुने गरेको जग्गामा यसपालि खरबुजा लहराएको थियो । किसानलाई प्राविधिक सहयोगसमेत उप्रेतीले नै प्रदान गर्नुभएको थियो । 

        रोपेको ९० दिनमै खरबुजा फल्छ । गत वर्ष प्रतिकेजी रु ५० मा बिक्री भएको खरबुजा यसपालि बन्दाबन्दीका कारण प्रतिकेजी रु ३० मा बिक्री गर्नुपरेको थियो । तैपनि किसान नाफामै रहे । बन्दाबन्दी नभइदिएको भए खरबुजाबाट दोब्बर आम्दानी हुने किसानको भनाइ छ । उनीहरुले उत्पादन गरेको खरबुजा झापाबाहिर इटहरी, धरान र विराटनगरमा बिक्री भएको थियो । 

        उप्रेतीले यस वर्ष ६० हजार खरबुजाको बिरुवा बिक्री गर्नुभएको थियो । उहाँको नर्सरीमा उत्पादित खरबुजाको बिरुवा चितवन, बारा, सिरहा, नवलपरासीलगायतका जिल्लाका किसानले खरिद गरेर लगेका थिए । (रासस)

प्रकाशित : ३२ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६