गुल्मी ६ असार । अर्घाखाँचीको सन्धिखर्कबाट गुल्मीको हाडहाडेतर्फ जाँदै गरेको जिप पल्टिँदा २ जनाको मृत्यु भएको छ । १जना घाइते छन् । सुत्केरी लिन हिँडेको ग १ज ३९९७ नम्बरको जिप पहिरोले थुनिएको धुर्कोट गाउँपालिका–३ हाडहाडेको खुर्पाखोलामा एक्कासी आएको ठूलो बहावले पल्टाइदिएको हो । घटनामा चालक प्रदीप पुन र स्थानीय १९ वर्षीय तुलसीराम काउछाको मृत्यु भएको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले वताउनु भयो । उहाँका अनुसार अर्का एक जना घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि अर्घाखाँचीको सन्धिखर्क पठाइएको छ । जिपमा सवार सुत्केरी र बालक सामान्य रहेको स्थानीय रमेश विष्टले वताउनु भयो । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बिहान आएको पहिराले घरगोठ भत्काउँदा १५ लाखभन्दा बढीको क्षति भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँंगै नरपानीको भुवनडाँडा निवासी थानबहादुर महत्राको घरगोठ पहिराले बगाउँदा लैनो भैँसीसहित चौपाया,दुई लाख,आठ तोला सुन, लत्ताकपडा तथा खाद्यान्न सबै पहिरोले पुरिएको वडाध्यक्ष कृष्णबहादुर आचार्यले बताउनुभयो ।
यसैबीच, नरपानीकै भुजुंगो गाउँ पहिरोले चिरा परेपछि ६ जना परिवारले घर छाडेका छन् । पाणिनि गाउँपालिका–६ धातीवाङमा ३ घरपरिवार विस्थापित भएका हुन् । पानी परिरहेको बेला जमिन चिरा परेपछि घर छाडेर छिमेकीको शरणमा रहेको प्रहरी निरीक्षक प्रकाश खत्रीले बताउनु भयो । ६ नम्बर वडासदस्य खगिश्वर पौडेलका १५ सय कुखुरा भएको फार्म बगाएर लग्दा १५ लाख रुपैयाँ बराबरको क्षति भएको वताउनु भयो ।
अर्घाखाँची जिल्लाका साना तथा ठुला खोलामा ठुलो भेल सहित वाडी आएको छ । यस्तै अविरल वर्षाका कारण गोरुसिंगे–सन्धिखर्कका विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । नरपानी तथा शीतगङ्गा नगरपालिकाको सीतापुर र ठाडाका विभिन्न भागमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो । पानी नरोकिएकाले सडक खुलाउन समस्या भएको उहाँले वताउनु भयो । यता शुक्रबारदेखिको अविरल वर्षाका कारण दाङका विभिन्न क्षेत्रमा डुबान हुन थालेको छ । दाङको देउखुरीका अधिकांश ठाउँ जलमग्न भएका छन ।
पानीको निकास नहुँदा अधिकांश ठाउँ जलमग्न भएका हुन । गढवा गाउँपालिका वडा नम्बर ५ को बोधिपुर र त्यस आसपासको गाउँ जलमग्न भएको स्थानीय हिमा अधिकारीले जानकारी दिनु भयो । पानी परिरहेको छ । चेतावनी साइरन बजाएर नदी तटिय र जोखिममा रहेका समुदायमा सचेत हुन अनुरोध गरिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका तथ्यांक व्यवस्थापक विनायक पौडेलले जानकारी दिनु भयो ।
प्रतिक्रिया