अर्थ-वाणिज्य

कोरोना प्रभावित करदातालाई महानगरपालिको सहुलियत



पोखरा, १२ असार । पोखरा महानगरपालिकाले कोरोना भाइरसको महामारीसँगै गरिएको बन्दाबन्दीका कारण आर्थिक तथा व्यावसायिक कारोवारमा नकारात्मक प्रभाव परेको भन्दै करदातालाई सहुलियत दिने भएको छ ।

        महानगरपालिकाको आर्थिक वर्ष २०७७र७८ को बजेटमा भाडामा दिइएका सटर तथा भवनको २०७६ चैतदेखि २०७७ जेठ मसान्तसम्म तीन महिनाको घर भाडा तथा बहाल कर छुट दिइने उल्लेख छ । छुट दिएको बहाल रकम आगामी आर्थिक वर्ष २०७७र७८ को पहिलो चौमासिकभित्र मिलान गर्ने गरी व्यवस्था मिलाइएको उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो ।

        महानगरपालिका स्थापना दिवसको अवसरमा क्षेत्रगतरुपमा उत्कृष्ट करदाता छनोट गरी महानगर उत्कृष्ट करदाताबाट सम्मान गरिने उहाँले बताउनुभयो । अन्डरग्राउन्ड पार्किङसहित निर्मित घर तथा भवनको नक्सापास दस्तुरमा एक तलाको राजस्व छुटको व्यवस्था र भूकम्पपीडित लाभग्राहीमा परेका परिवारले नक्सापास गर्दा उक्त दस्तुरमा एक हजार स्क्वायर फिटको ग्राउन्ड लेबलसम्म नक्सापास दस्तुरमा सतप्रतिशत छुटको व्यवस्था गरिएको छ ।

महानगरपालिका क्षेत्रका पुरातात्विक महत्वका पुराना घर भत्केको स्थानमा साविककै शैली झल्कने गरी भवन निर्माण गरेमा ५० प्रतिशत छुट दिइने व्यवस्था मिलाइएको छ । पूर्णरुपमा पार्किङ भवन बनाएमा राजस्व छुट दिइने उपप्रमुख गुरुङले बताउनुभयो । उहाँका अनुसार महानगरका ग्रामीण पर्यटकीय क्षेत्रमा भवन निर्माण गर्दा नक्सापास दस्तुरमा ५० प्रतिशत छुट दिइने छ भने अपाङ्गता भएका, पिछडिएका वर्ग तथा महिलाले व्यवसाय दर्ता गर्दा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

        त्यस्तै कृषिसम्बन्धी व्यवसायको लागि ३० प्रतिशत छुट, सम्पत्ति, भूमिकर (मालपोत) कर पुस मसान्तसम्म भुक्तानी गरेमा १० प्रतिशत छुट र कम्तीमा तीन रोपनीभन्दा बढी जग्गा कृषि प्रयोजनमा रहेको छ भने ३० प्रतिशत भूमिकरमा छुटको व्यवस्था गरिएको छ । बन्दाबन्दी अवधिमा घरधनीले घर भाडा मिनाहा गरेमा सो अवधिको बहाल करमा छुट दिइने व्यवस्था मिलाएको जानकारी दिँदै उपप्रमुख गुरुङले महानगरका नियमित करदातालाई कोरोनाको कारण व्यवसामा परेको असरलाई मध्यनजर गर्दै निश्चित मापदण्ड तयार गरी सहुलियतको व्यवस्था मिलाइने बताउनुभयो । (रासस) 

प्रकाशित : १२ असार २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६