कपिलवस्तु २५ असार ।प्रदेश ५ को स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार देशभरमा कोरोना निको भएर घर फर्किनेहरूको दर ४६ प्रतिशत रहँदा प्रदेश ५ मा भने ६४.४५ प्रतिशत रहेको छ । प्रदेश ५ मा सबभन्दा बढी ७ सय ४७ जनामा संक्रमण पुष्टि भएको कपिलवस्तुमा हाल ४९ जना मात्र उपचाररत छन् । ६ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।यता सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका कपिलवस्तु र बाँकेमा ९५ प्रतिशत संक्रमित कोरोनामुक्त भएका छन् ।
कोरोना नियन्त्रणका लागि सरकारले देशभर लागू गरेको लकडाउनलाई खुकुलो बनाइरहँदा प्रदेश ५ मा कोरोनाको ‘इपिसेन्टर’ बनेका कपिलवस्तु र बाँकेमा भने कडाइ नै गरिएको थियो। तर असारको पहिलो सातादेखि नै बाँके र कपिलवस्तुमा संक्रमित थपिने क्रम न्यून हुँदै गएको छ। संक्रमण पुष्टि भएपछि आइसोलेसन अस्पतालमा रहेका संक्रमित पनि कोरोनामुक्त भएर घर फर्किने गरेका छन् ।मंगलबारसम्म कुल ३ हजार ९ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश ५ मा १ हजार ३ सय ८५ जना मात्र विभिन्न अस्पताल तथा आइसोलेसनमा उपचाररत छन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमितमध्ये २ हजार ५ सय ३५ जना भने निको भएर घर फर्किसकेका छन्। ।
त्यस्तै, बाँकेमा ३ सय ७२ जना संक्रमितमध्ये ३ सय ५५ जना निको भएर घर फर्किएका छन् भने १५ जना मात्रै उपचाररत् छन्। प्रवक्ता चौधरीले बाँकेमा ९५ प्रतिशत र कपिलवस्तुमा ९३ प्रतिशत संक्रमित निको भएर घर फर्किएको जानकारी दिए। त्यस्तै, ५ सय ९९ जना संक्रमित भेटिएको दाङमा २ सय १९ जना उपचाररत् छन् भने ३ सय ७८ जना निको भएका छन्। ढिलो गरी संक्रमण देखिएको पाल्पामा भने ४ सय ९८ जना उपचाररत छन् । पाल्पामा ५ सय ४६ जनामा संक्रमण पुष्टि भएकोमा ४७ जना संक्रमणमुक्त भएका छन् । गुल्मीमा १ सय ५८, प्युठानमा १ सय ७५, अर्घाखाँचीमा १ सय ६, रुपन्देहीमा ६०, नवलपरासी पश्चिममा ५२, बर्दियामा ३९, रोल्पामा ९ र रुकुम पूर्वमा ५ जना उपचाररत छन् । प्रदेश ५ का गुल्मी, अर्घाखाँची, रुपन्देही र प्युठानमा ३ सयभन्दा बढी संक्रमित भेटिएका थिए ।
प्रदेशका तराईका ६ वटा जिल्ला खुला भारतीय सीमासँग जोडिएको र नेपाल भारत दुवैतर्फ लकडाउन जारी रहेकै अवस्थामा समेत भारतबाट सीमावारि आएका संक्रमितहरूलाई आइसोलेसनमा राखी उपचार गरिएपछि संक्रमण समुदायमा फैलिन नपाएको निर्देशनाको दाबी छ । प्रदेश ५ मात्र नभई भारतमा रहेका अरु प्रदेशका नागरिक समेत यही क्षेत्रको सीमा नाकाको प्रयोग गरी आउँदा संक्रमण बढी देखिएको निर्देशनालयको तर्क छ । हाल भारतबाट आउने नेपालीहरूलाई सीमा क्षेत्रमा बनाइएका होल्डिङ सेन्टरमा राखी सम्बन्धित जिल्ला तथा पालिकाहरूमा पठाउने गरिएको छ। प्रदेश ५ का विभिन्न जिल्लाहरूमा कोरोना संक्रमण पुष्टि भएका १३ जनाको मृत्यु भए पनि कोरोनाकै कारण उनीहरूको मृत्यु नभएको निर्देशनालयको भनाइ छ ।
प्रतिक्रिया