रुपन्देही, ९ साउन । संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले भ्रष्टाचार गर्नेहरुलाई प्रमाणसहित कारवाहीका लागि सिफारिस गर्दा पनि कार्यान्वयन नभएको बताउनु भएको छ । उहाँले सार्वजनिक लेखा समितिले कारवाहीका लागि सिफारिस गरेकाहरुलाई सरकारले नै बचाउने काम गरेको आरोप पनि लगाउनु भएको छ । वाईडवडीदेखि अहिलेको ओम्नी गु्रपसम्मलाई लेखा समितिले अध्ययन गरेर सरकारलाई कारवाहीका लागि प्रक्रिया थाल्न भनेको शाहले बताउनु भयो ।
वीपी कोईरालाको स्मृति दिवसका अवसरमा वीपी विचार समाजले रुपन्देहीको लुम्बिनीमा आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेसका नेता शाहले सरकारले अपराधीहरु बचाउने काम गर्न नहुनेमा जोड दिनुभयो । उहाँले राज्यसंयन्त्रको दुरुपयोग गरेर गरिएको अनियमितताको एक एक हिसाव जनताका अगाडी सार्वजनिक गर्नेपनि बताउनु भयो । सभापति शाहले वीपीले परिकल्पना गरेको समाजवाद अहिलेपनि व्यवहारमा नआएको भन्दै दूरदराजका जनताको अवस्थालाई हेरेर विकासका योजना बनाउनु पर्नेमा जोड दिनुभयो ।
सो अवसरमा नेपाली कांग्रेसका नेता तथा प्रदेश सभा सदस्य फकरुद्दिन खांले आफूलाई सर्वहाराको सरकार बताएपनि आफू र आफ्ना कार्यकर्ता पोस्ने काम मात्र भएको बताउनु भयो । जनताको हितमा भन्दै आफ्नो कुर्ची बचाउने खेलमा सरकार लागेको उहांको टिप्पणी छ । नेपाली कांग्रेसका नेता तथा प्रदेश सभाका उमेदवार विष्णु पोख्रेलले अहिले सरकारले जनस्तरका संस्कृति र सम्बन्ध भत्काउने काम गरेको टिप्पणी गर्नुभयो । उहाँले प्रधानमन्त्री जस्तो व्यक्तिले विना अध्ययन लहडमा बोलेर दुई देशका नागरिकहरुका वीचमा दुस्मनीको वातावरण निर्माण गरेको आरोप लगाउनु भयो । कार्यक्रममा वीपी विचार समाज रुपन्देहीका अध्यक्ष शरद भट्टराईले समाजवाद मुखले मात्र भनेर नहुने भन्दै व्यवहारमा समाजवाद लागू गर्न सरकारलाई आग्रह गर्नुभयो ।
समाजका क्षेत्रीय अध्यक्ष अमेरिका कोहारको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति मोहमद वकिल मुसलमान, समाजका सल्लाहकार हरि न्यौपाने, सचिव कृष्ण पोख्रेल, जिल्ला सदस्य नविन केसी, तिलोत्तमा अध्यक्ष कल्याण पौडेल, अशोक गोस्वामी लगायतले बोलेका थिए । सो अवसरमा समाजले कोरोना संक्रमणवाट बच्नका लागि मास्कको प्रयोग गरौं भन्दै मास्क वितरण गरेको थियो ।
प्रतिक्रिया