काठमाण्डौ २२ साउन । भारत गुजरातमा कोरोनाका बिरामी राखिएको अस्पतालमा आगो लाग्दा ३ महिलासहित ८ जना बिरामीको ज्यान गएको छ ।गुजरातको अहमदाबाद शहरको नवरंगपुर इलाकामा रहेको कोरोना सङ्क्रमित राखिएको अस्पतालमा आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राति ३ बजेतिर लागेको आगो एक घण्टामै निभाइए पनि ८ जनाको भने ज्यान गएको खबरमा उल्लेख छ । आगो लागेपछि त्यहाँ रहेका ४० जना बिरामीलाई एसपीवी अस्पताल सारिएको छ । अस्पतालमा रहेका सबै जना कोरोना सङ्क्रमित हुन् ।
उद्धारमा खटिएका सबैजनालाई क्वरेण्टीनमा राखिएको छ । मुख्यमन्त्री विजय रुपाणीले घटनाबारे तत्काल छानविन गर्न निर्देशन दिनुभएको छ । विद्युत सर्ट भएर आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटरमार्फत आगलागीको घटनाप्रति दुख व्यक्त गर्नुभएको छ । यसैबीच भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या साढे १९ लाख नाघेको छ ।गएको २४ घण्टामा ५६ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १९ लाख ६४ हजार ५ सय ३७ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयकाअनुसार हिजोमात्रै ९ सय ४ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या साढे ४० हजार नाघेको छ । १३ लाख २८ हजार भने निको भएका छन् ।
प्रतिक्रिया