काठमाडौं, २ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको सम्पूर्ण विवाद समाधनाका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष नयाँ प्रस्ताव अगाडि सारेका छन् ।बहुमत सचिवालय सदस्यहरुले ओलीले प्रधानमन्त्री वा पार्टी अध्यक्ष एक पदबाट राजीनामा दिनुपर्ने अडान चर्काउँदै लगिरहेका बेला ओलीले नयाँ प्रस्ताव अगाडि सारेका हुन् ।
उनले पार्टीभित्रको सधैंको विवाद समाधानका लागि सबैले आ–आफ्नो ठाउँबाट राजीनामा दिनुपर्ने प्रस्ताव प्रचण्डलाई गरेका छन् । मंगलबार कार्यकारी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेका पार्टी महासचिव विष्णु पौडेलमार्फत ओलीले दाहाललाई यस्तो प्रस्ताव पठाएको बताइएको छ ।पार्टीका पुराना नेता प्रदिप नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत उक्त प्रस्ताव सार्वजनिक गरेका हुन् । नेपालले लेखेका छन्, ‘पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले पार्टीभित्रको कचकच मिलाउन सबैले राजीनामा गरौं भन्नुभएछ ।’
ओलीको यो प्रस्तावप्रति नेता नेपालले सहमति जनाएको संकेत समेत गरेका छन् । साथै प्रधानमन्त्री ओलीको यो विकल्प सही भएको र यसलाई कार्यान्वयन गर्न सबै तत्पर हुनुपर्ने दर्जनौं प्रतिक्रिया समेत आएका छन् ।सबैले आ–आफ्नो पदबाट राजीनामा दिएर महाधिवेशनमा केन्द्रित हुँदा पार्टीको वर्तमान विवाद हल हुने आशयका साथ ओलीले उक्त प्रस्ताव प्रचण्डलाई पठाएको बुझिएको छ । ओलीले पछिल्लो समय एउटा–दुईटाले मात्रै नभई सबैले त्याग गरेर तल्लो तहमा नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा समेत सार्वजनिक गर्दै आएका छन् ।
गत शुक्रबारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले ओलीविरुद्ध पेश गरेको लामो राजनीतिक प्रस्तावले पार्टीभित्र तरङ्ग उत्पन्न भइरहेका बेला ओलीको यो प्रस्तावले नेकपामा थप नयाँ तरङ्ग पैदा गरेको छ ।यसवाट युवा नेताहरु उत्साहित भएका छन् ।
प्रतिक्रिया