अर्थ-वाणिज्य

सरकारका तीनवर्षमा मुख्य उपलब्धी सवा २ घण्टामा सार्वजनिक



काठमाडौं, ४ फागुन । तीन वर्षअघि दुई तिहाइनजिकको बहुमतबाट बनेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले यो अवधिमा अपेक्षित काम गर्न नसकेको स्विकारेका छन् । तर उनले त्यसको दोष भने आफ्नै पार्टीका सहकर्मीलाई लगाए ।सरकार गठनको तीन वर्ष पुगेको अवसरमा सोमबार प्रेस ब्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले नेकपाको शीर्ष नेतृत्वमा रहेका केही नेताहरूले समानान्तर सरकार चलाउन खोजेर आफूलाई कामै गर्न नदिएको दोषारोपण गरेका हुन् ।

    त्यही कारण मुलुकलाई राजनीतिक अस्थिरताको खेलमैदान हुनबाट जोगाउन आफूले प्रतिनिधिसभा विघटन गरेको तर्क ओलीको थियो । आफ्नै पार्टीका सहकर्मीहरू सरकार कसरी ढाल्ने भन्ने ‘उद्यम’ मा लागेको अवस्थामा तीन वर्षमा जेजति उपलब्धि भयो त्यसबाट निराश हुनुपर्ने अवस्था नरहेको उनले दाबी गरे ।प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट काम गर्न नदिएकाले दुई तिहाई बहुमतको सरकारले गठबन्धन सरकारको झैँ नियति भोग्नु परेको पनि बताए । ‘सुरुदेखि नैसरकार सञ्चालनमा केही अप्ठ्याराहरु त थिए नै । विभिन्न ढंगले काममा ब्यवधान खडा गरिएकै थियो । खासगरी पछिल्लो एक वर्षदेखि झन्डै दुईतिहाई सांसदको समर्थन प्राप्त यस सरकारले विभिन्न दलको गठबन्धन सरकारले जस्तो नियति बेहोर्नु पर्‍यो । एकातिर जनताको उच्च आकांक्षा सम्बोधन गर्नु पर्ने, अर्कोतिर आफ्नै खुट्टामा अल्झिएर अलमलिएझैँ सरकारले काम गर्नै नपाउने अवस्था सिर्जना भयो,’ उनले भने ।

   भूकम्पपछि पुनर्निर्माण गरिएको सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय परिसरमा लिखित ‘प्रेस ब्रिफिङ’ पढ्दै उनले आफ्नै पार्टीका नेताका कारण मुलुक मध्यावधि निर्वाचनमा जानुपरेको बताए । पार्टीका साथीहरूले काम गर्न नदिएको बारम्बार दोहोर्‍याएका ओलीले आफ्नो तीनवर्षे उपलब्धि सवा दुई घण्टा लगाएर सुनाए । उनले एकातिर काम गर्न नदिएको दोहोर्‍याए भने सँगसँगै विकास निर्माणका उल्लेख्य काम भएको ४४ पृष्ठको ब्रिफिङ पुस्तिका पढे ।

   प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदमलाई प्रतिगमनको संज्ञा दिँदै सडक आन्दोलन गरिएकामा उनले आक्रोश पोखे । ‘उदेक लाग्छ, साथीहरू केलाई प्रतिगमन भनिरहनुभएको छ । के हामी संविधानले कोरेको सीमाभन्दा पछि हटेका छौं रु’ उनले प्रश्न गरे । आफूलाई फौजदारी अभियोगसरह आरोप लगाएर सरकारमाथि ‘हमला’ गरेकाले नेकपाका केही नेताको ‘कुण्ठाको बाछिटा’ व्यवस्थापिकामा नपरोस् भन्नेमा आफू सधैं सतर्क रहेको उनले उल्लेख गरे ।

प्रकाशित : ४ फाल्गुन २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६