अर्थ-वाणिज्य

छ महिनाको खर्च २४ प्रतिशत , बाणगंगाको कुल ३३२ योजना मध्ये ५२ सम्पन्न



कपिलवस्तु ६ फागुन। कपिलवस्तुको बाणगंगामा चालु आवको छ महिनामा औषतरुपमा २४ प्रतिशत बजेट खर्च भएको छ । बुधवार नगरसभाहलमा भएको अर्धवार्षिक समिक्षामा यस्तो विवरण पेश गरिएको हो । जसमा चालु खर्च ३२ प्रतिशत र पूजीगत खर्चमा १४ प्रतिशत प्रगती भएकोहो । यसैगरी खर्चलाई क्षेत्रगत रुपमा हेर्दा सबैभन्दा बढी ३३ प्रतिशत सामाजिक विकास समिति मार्फत खर्च भएको छ । त्यसपछि कार्यलय संचालन तथा प्रशासनिक खर्चमा ३० प्रतिशत भएको छ । 


    बेरुजु तर्फको विवरणले केहि रकम बृद्धि भएको देखाएको छ । आव २०७४/०७५मा ३१ लाख१९ हजार रहेको बेरुजु ०७५/०७६मा १० लाख १७ हजार थपिएर कुल बेरुजु ४१ लाख ३६ हजार पुगेकोछ । कोभिड पोजेटिभ देखिएका १९ जना जनप्रतिनिधी र कर्मचारी मध्ये १२  जनाले १÷१ लाख रकम वीमावाट पाएका छन् । कोभिड भ्याक्सीन पाउने जनप्रतिनिधी र कर्मचारी भने १ हजार वढी रहेका छन् । यता छ महिनाको अवधीमा वाणगंगाका १२ वटा स्वास्थ्य सस्थावाट ३१६ जना सुत्केरीले प्रसुती सेवा र भत्ता पाएको समिक्षा प्रतिबेदनमा उल्लेख छ । 


यसविचमा डेलिभरी सेवाका लागि ५३ जनाले निशुल्क एम्वुलेन्स पाएको ,१०९वटा नयाँ कृषि फर्म दर्ता भएको ,२१ वटा सहकारीलाई रासायनिक मलखाद वितरणकालागि सिफारिस गरिएको उल्लेखछ । वडागत रुपमा उपभोक्ता समिति मार्फत काम हुनेगरी यसपाली २९६ योजना रहेकोमा १८३ योजना संझौता भएका छन् भने १९३ योजना संझौता हुन वाँकी छन् । ४९ योजनाको काम सकिएको छ । यसैगरी ठेक्कावाट ३६ योजना अघि वढाउने ब्यवस्था गरिएकोमा २४ वटाको संझौता भएको छ । ३ वटा योजना सम्पन्न भएका छन् । 

समिक्षा कार्यक्रममा बास्तविक भूमिहिनलाई  मात्र जग्गा उपलब्ध गराउनु पर्नेमा  सहभागीले जोड दिएका छन् । भूमिहिनको पहिचान गर्दा सत्यतथ्य बुझ्नु पर्ने अन्यथा वास्तबिक सुकुम्बासीले जग्गा पाउन नसक्नेमा उनिहरुको जोड छ । उनिहरुले चालु आर्थिक वर्षका योजना समयमै सम्पन्न गर्न सुझाव दिएका छन् ।कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले वास्तबिक भूमीहिनलाई मात्र जग्गा उपलब्ध गराउनुपर्ने बताउनु भयो । नेपाल सरकारले संचालन गरेको बाल पोषण कार्यक्रम प्रभावकारी बन्दै गएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनु भयो । बाल पोषण कार्यक्रमले नागरिकता लिने महिलाको संख्या समेत बढेको घिमिरेको भनाई छ । राष्ट्रिय सभा सदस्य घिमिरेले अबको एक डेढ महिनामा विकास निर्माणका कार्यक्रम  सम्पन्न गर्नेगरी लाग्न सुझाव दिनुभयो ।

    यस्तै प्रदेश सांसद विष्णु पन्थीले वाणगंगा नगरपालिका तुलानात्मक रुपमा सफल रहेको भन्दै  नगरपालिकाले समयमै काम सम्पन्न गर्नेमा विश्वस्त रहेको बताउनुभयो । वाणगंगाको  अघिल्लो वर्षको बेरुजु शुन्य रहेकाले यसलाई पनि सफलताको रुपमा लिनुपर्ने बताउनुभयो । यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।वाणगंगामा नगरपालिकामा सबै भन्दै धेरै कृषि सहकारी ३९ वटा रहेकाले उक्त सहकारीलाई परिचालित गरी रोजगारीको मुख्य स्रोत बनाउनुपर्ने बताउनुभयो ।कार्यक्रममा बोल्दै संविधान सभा सदस्य विश्राम प्रसाद थारुले जनगुनासो नआउने गरी काम गर्न स्थानीय तहलाई सुझाव दिनुभयो ।

    सेवाग्राही कामको लागि बारम्बार नगरपालिका धाउनुपरेमा जनमानसमा नगरपालिका प्रति नकारात्मक प्रभाव पर्ने भएकोले छिटोछरिता सेवा दिई स्थानिय तहको अनुभुती दिलाउनुपर्नेमा जोड दिनुभयो ।यस्तै वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले नगरपालिकामा छाडा चौपाया ब्यवस्थापनका लागि बजेट बिनियोजन भएको भन्दै अन्य कामहरुपनि अगाडी बढाउने बताउनुभयो । कार्यक्रममा भूमी समस्या समाधान आयोग जिल्ला संयोजक कृष्ण पौडेल, नेकपाका अध्यक्ष झविलाल पोख्रेल ,कांग्रेस नेता रबि बहादुर काफ्ले, बाणगंगा ट्रक यातायात समितिका अध्यक्ष विष्णु न्यौपाने, नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष  रमेश पन्थी लगाएतले नगरपालिकालाई विभिन्न सुझाव दिनुभएको थियो ।

    वाणगंगाको मुख्य बाटो मै फोहर हुँदा राम्रो सन्देश नजाने भन्दै फोहरको ब्यवस्थापन गर्नुपर्ने, नगरभित्र बसपार्क निर्माणको काम सुरु गर्नुपर्ने,  पिपरा अस्पतालको सेवा अझ सुदृढ गर्नु पर्ने,नगरभित्र रहेका भुसिया कुकुर ब्यवस्थापन गर्नुपर्ने, भुमिहिनलाई जग्गा दिन स्थानीयको सिफारिस आवश्यक पर्ने भएकाले वास्तबिक भूमिहिनको पहिचान गर्नुपर्ने,  नगरभित्र प्राकृतिक स्रोत साधनको दोहन बढेकाले यसको नियन्त्रण गर्नुपर्ने, वन अतिक्रमण रोक्नुपर्ने लगाएतका सुझाव दिनु भएको थियो ।

    सहभागीको सुझावलाई सम्बोधन गर्दै नगर उपप्रमुख चक्र अर्यालले लामो समयदेखी फोहर ब्यवस्थापन गर्न नसक्दा आलोचना खेप्दै आएको भन्दै यसको ब्यवस्थापनका लागि कोसिस जारी राखेको बताउनुभयो । नगरपालिका यसै आर्थिक वर्ष भित्रै फोहर ब्यवस्थापन गर्नेगरी  लागेको भन्दै यसको दीर्घकालिन समाधान तर्फ केन्द्रित भएको बताउनुभयो ।  सहभागीले राख्नुभएका विभिन्न सुझावलाई ग्रहण गर्दै जाने भन्दै उपप्रमुख अर्यालले अब २ महिना भित्रै सतप्रतिशत बजेट खर्चगर्नेगरी काम गर्ने दावि गर्नु भयो  । 

    गत वर्ष कोभिडको समयमा पनि ९५.६७ प्रतिशत खर्च गरिएकाले यस वर्षपनि समयमै काम सम्पन्न हुनेमा ढुक्क हुन आग्रह गर्नुभयो ।कार्यक्रम मेयर मंगल प्रसाद थारुको अध्यक्षता, नगरपालिकाका प्रवक्ता विष्णु पौडेलको स्वागत मन्तब्य र नगरका अधिकृत केशब भट्राईको संचालनमा सम्पन्न भएको हो । 

प्रकाशित : ६ फाल्गुन २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६