ब्रेकिंग न्युज

बुहारीको रहस्यमय हत्या र सासुको आत्महत्याले गुल्मी आतंकित



गुल्मी १९ फागुन ।  बुहारीको रहस्यमय हत्या र सासुको आत्महत्याले गुल्मी आतंकित भएको छ।  रेसुंगा ३ की सम्झना बोहरा खत्री गत माघ २९ गते बेपत्ता भइन्। ३० गते उनी हराएपछि माइती र परिवार पक्षले प्रहरीमा उजुरी दिए। उजुरीपछि गाडी चलाउँदै आएका श्रीमान् नेत्र बहादुर खत्रीको सोधीखोजी प्रहरीले गर्‍यो। उनले आफु काठमाडौं, बुटवल रहेको बताउँदै आलटाल गरेपछि उनलाई प्रहरीले गुल्मीबाटै पक्राउ गर्‍यो। सोधपुछका लागि सासु टोमकला खत्रीलाई प्रहरीले पक्रेर केरकार गर्‍यो। सासु खत्रीले २९ गते राती ३ जना व्यक्ति आएर सम्झनालाई लिएर गएको बयान दिइन्। प्रहरीका अनुसार उनले आफु र १४ महिनाका नातिलाई थुनेर ती ३ जनाले सम्झनालाई लिएर गएका थिए।

फागुन १ मा प्रहरीले सोधपुछ गरेर टोमकलालाई घर पठायो। घर गएकै राती उनले आत्महत्या गरिन्। उनले आत्महत्या गरेपछि सम्झनाका माइती पक्ष र घर पक्षबीच आक्रोश बढ्यो र प्रहरी कार्यालय घेराउ गरे।सम्झनाका घरपक्षले सासुलाई मानसिक तनाब दिएर आत्महत्या गर्न दुरुत्साहन गरेको भनेर प्रहरीमा उजुरी दिए। त्यसपछि प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा सम्झनाका बाबुआमा र जेठीआमालाई नियन्त्रणमा लियो।

दुवैपक्षको तीब्र दबाब र आन्दोलनपछि प्रहरीले घटनाको निचोड निकाल्न सकेन। बेपत्ता भएका १९ दिनसम्म भएका आन्दोलन र धर्नासम्म पनि सम्झनाको अत्तोपत्तो थिएन। १९ दिनमा उनी मृत फेला परेको खबर प्रहरीले पायो र घटनाले अर्को मोड लिएको छ। घरबाट करीब डेढ सय मिटर तल बारीको कुनामा बोरामा राखेर हातखुट्टा बाँधेको अवस्थामा विक्षिप्त अवस्थामा सम्झनाको शव फेला परेको हो।

क्षतविक्षत अवस्थामा सम्झनाको शव फेला परेपछि प्रहरी उनको हत्याराको खोजीमा लागेको छ भने आत्महत्या गरेकी टोमकलाको मृत्युको कारण सम्झनाका माइतीपक्ष रहेको भन्दै उनका पक्षले अर्को दबाब दिए। यसबीचमा गुल्मी प्रहरीको नेतृत्व गरिरहेका एसपी प्रवीणलाल श्रेष्ठको सरुवा भयो। उनको सरुवाले यो घटना निचोडमा पुर्‍याउन अर्को दबाब थप्यो। यो जिम्मेवारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेयमाथि आएको छ।

उनीमाथि हत्यामा संलग्नलाई पक्राउ गरेर माइती पक्षको चित्त बुझाउने र यहीबीचमा आत्महत्या गरेकी टोमकलाका परिवारलाई सान्त्वना दिने दोहोरो चुनौती छ। दुवै पक्षलाई चित्त बुझाएर न्याय दिन उनीमाथि थपिएको चुनौतीसँगै स्थानीयको दबाब र राजनीतिक दबाब पनि चर्को छ। यसबीचमा दुवैपक्षलाई न्याय दिलाउने पाण्डेय बताउँछन्। 

निमित्त प्रहरी प्रमुख पाण्डेयले घटनामा धेरै पक्षहरु जोडिएको र दुईजनाको मृत्यु भएकाले गम्भीर हिसाबले अध्ययन जारी रहेको बताए। उनले केहीदिनभित्रमै घटनामा संलग्नहरु सार्वजनिक गर्ने गरी प्रहरीले अनुसन्धान अन्तिम चरणमा पुर्याएको बताए।घटनाक्रमहरु हेर्दा एकदमै जटिल देखिन्छन्उनले भने-तरपनि लामो अध्ययन अनुसन्धान पछि प्रहरीले छिटै नै निचोड निकाल्दैछ।पाण्डेयका अनुसार अपराधी पत्ता नलागेसम्म शव नबुझ्ने अडान माइती पक्षले राखेपछि मंगलबार दिउँसो मात्रै घटनास्थलबाट शव उठेको छ।

घटनाको मुचुल्का उठाउने र पोष्टमार्टम गर्ने सहमतिअनुसार शव गुल्मी अस्पताल तम्घासको शवगृहमा राखिएको पाण्डेयले बताए।सम्झनाका माइती पक्षले शवको पोष्टमार्टम गरेर अनुसन्धानमा सहयोग गर्ने, अपराधी सार्वजनिक नगरेसम्म शव नबुझ्ने, आफुहरुलाई झुट्टा मुद्धा लगाउने विरुद्ध कानुनी उपचार खोज्ने, १४ महिने बालकको पालन पोषणको ग्यारेण्टी हुनुपर्ने माग राखेका छन्।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६