एजेन्सी २६ चैत ।भारतको उत्तर प्रदेशमा कोरोनाको जोखिम उच्च भएपछि तीन जिल्लामा रात्रिकालीन कर्फ्यु लागू भएको छ । लखनउ, प्रयागराज र वाराणसीमा राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लागू भएको छ । यो समयमा अत्यावश्यक सेवाका गाडीलाई भने ओहोरदोहोर गर्न दिइनेछ । योबाहेक उत्तर प्रदेशमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका ठाउँ र हरेक दिन एक सयभन्दा बढी नयाँ बिरामी भेटिएका ठाउँमा पनि राति कर्फ्यु लाग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उत्तर प्रदेशका मुख्य मन्त्री आदित्यनाथले परिस्थिति हेरेर थप निर्णय गरिने बताउनु भएको छ । भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख नाघेको छ । एकैदिन एक लाख २६ हजार भन्दा धेरै सङ्क्रमित थपिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९ लाख १० हजार पुगेकाको वर्ल्डओमिटरले जनाएको छ। कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ६६ हजार ८ सय ९२ पुगेको छ ।
भारतमा अहिलेसम्म एक करोड ९२ लाख भन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, दिल्लीमा कोरोनाको कारण अवस्था गम्भीर बन्दै गएको छ ।त्यहाँका बालबालिका र युवा पनि सङ्क्रमणको उच्च जोखिममा परेका छन् ।
प्रतिक्रिया