भैरहवा 24 बैशाख।रुपन्देहीमा अक्सिजनको अभाव भएपछि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले अक्सिजन प्रयोग हुने उद्योगहरुबाट अक्सिजन सिलिण्डर संकलन थालेको छ ।
जिल्लामा रहेको १२ वटा स्टिल उद्योगहरु मध्ये ८ वटा स्टिल उद्योगहरुबाट ५ सय ३८ वटा अक्सिजन सिलिण्डर संकलन गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।
संकलन गरिएको सिलिण्डरमा केही भरिएका थिए भने केही खाली छन् । संकलन गरिएको अक्सिजन सिलिण्डरमध्ये भैरहवास्थित यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेस (यूसिएमएस) लाई एक सय वटा, लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई ६८ वटा र भीम अस्पताल भैरहवालाई १५ वटा उपलब्ध गराइएको उनले बताए ।
बाँकी रहेका अन्य सिलिण्डरहरुलाई सम्बन्धित स्थान अक्सिजन भर्नका लागि पठाइएको प्रजिअ तामाङले जानकारी दिए । रुपन्देहीमा संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि अक्सिजन सिलिण्डरको अभाव खड्किएको छ ।
प्रतिक्रिया