कपिलवस्तु, ९ असार । कपिलवस्तुका विभिन्न सस्थाको साझा सञ्जाल मावव अधिकार रक्षक संजालद्वारा जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाईएको छ । निषेधाज्ञाको समयमा तीनै तहका सरकारले कोभिड रोकथाम र नियन्त्रणका लागि गर्नुपर्ने कार्यहरु प्रभावकारी रुपमा हुन नसकेको भन्दै जनताको जीउधन रक्षार्थ अविलम्व प्रभावकारी कार्य सम्पादन होस भन्दै ध्यानाकर्षण पत्र पठाइएको हो । जिल्लामा कार्यरत मानव अधिकारकर्मी , उपभोक्ता अधिकारकर्मी र नागरिक समाजका अगुवाहरुले ध्यानाकर्षण गराएका हुन् ।
ध्यानाकर्षण पत्रका आधारमा कोभिड–१९ को दोस्रो लहरको सुरुका दिनमा अस्पतालहरु कोभिड संक्रमितहरुले भरिभराउ भएको, शैया नपाएर अस्पतालका बरण्डा तथा ग्यालरी र बाहिर टेन्ट लगाएर समेत बिरामीहरु बस्नु परेको, अक्सिजनको अभावले बाँच्न सक्ने सङ्क्रमितहरुलाई समेत उचित व्यवस्था तथा हेरविचार गर्न नसकेर बचाउन नसकेको, संक्रमितहरुलाई आवश्यक पर्ने स्वास्थ्य उपकरण र औषधिहरुको चर्को मूल्यमा बिक्रीवितरण भई रहेको अवस्था देखिएको उनीहरुको ठहर छ ।
हाल संक्रमित हुने दरमा केही कमी आएको, अस्पतालमा बेड तथा अक्सिजनको व्यवस्थापन गरिएको भएपनि अपिक्षाकृत सुधार हुन नसकेको अवस्था औल्याएका छन् । कोभिड संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले थपगर्दै गरेको निषेध आदेशका कारण ज्यालामजदुरी गरी जिविकोपार्जन गर्ने व्यक्ति र बर्गलाई थप संकट उत्पन्न भएको हुँदा निषेश आदेशका क्रममा तीनै तहका सरकारले कोभिड नियन्त्रण र नियन्त्रणका लागि गर्नु पर्ने कार्यहरु प्रभावकारी रुपमा गर्न नसकेको जनगुनासो बढदो अवस्थामा छ ।
यसैगरी निषेधाज्ञामा उपभोग्य बस्तुको मुल्य अत्याधिक मात्रामा बृद्धि भएको र कालोबजारी बढदै गएकोले उपभोक्ताहरु थपमारमा परेको पाइएकोले प्रभावकारी बजार अनुगमन तथा उपभोक्ताहरुको आधारभूत आवश्यकताको परिपूर्तिको लागि स्थानीय सरकारहरुबाट उचित प्रवन्ध गरियोस ध्यानाकर्षणमा उल्लेख गरिएको छ । ध्यानाकर्षण पत्र मानव अधिकार रक्षक संजालका जिल्ला अध्यक्ष दोलख बहादुर पछाईको संयोजकत्वमा उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डे, निगरानी समुहका जिल्ला संयोजक पुष्पा रेग्मी, जवाफदेही निगरानी समुहका संयोजक राम दयाल ठाकुर, मानव अधिकार समुह बाणगंगाका अध्यक्ष ईन्दीरा भट्टराई, संजालका सदस्य देबकला सुबेदी कमाल, ईन्सेक प्रतिनिधि पार्बती आचार्य लगायत संचारकर्मीको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेलाई ध्याकर्षण पत्र बुझाईएको हो । इन्सेको पहलमा सबै अधिकारकर्मी समेटेर रक्षक सञ्जाल गठन गरिएकोहो ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले तत्कालै संबन्धित निकायहरुमा पठाउने प्रतिबद्धता जनाउनु भयो । उहाले बिभिन्न संजालबाट आउने ध्यानाकर्षण पत्रले कहाँ के समस्या भएको छ भन्ने बिषयमा अवगत हुने र तत्काल अनुगमन गर्नका लागि सहयोग पुग्ने समेत बताउनु भयो ।
यसैगरी उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डेले निषेध आदेशका क्रममा उपभोग्य बस्तुको मुल्य अत्याधिक मात्रामा बृद्धि भएको र कालोबजारी बढदै गएकोले उपभोक्ताहरु थपमारमा परेको हुँदा प्रभावकारी बजार अनुगमन तथा उपभोक्ताहरुको आधारभूत आवश्यकताको परिपूर्तिको लागि स्थानीय सरकारहरुबाट उचित प्रवन्ध मिलाउनु पर्ने सो क्रममा वताउनु भयो ।शिक्षक महासंघका अध्यक्ष देवकला सुबेदी कमालले सम्पूर्ण शिक्षकलाई कोरोना खोप नदिए सम्म विद्यालय नखोल्ने भन्दै प्रजिअलाई आवश्यक खोपको सुनिश्चितता गरिदिन माग गर्नु भयो ।
प्रतिक्रिया