मंसिर १६ गतेसम्म सञ्चालन हुने आठौँ संस्करणमा नगरभित्रका विद्यालयको सहभागिता
कपिलवस्तु, १२ मंसिर
विद्यालयस्तरबाटै खेल प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यसहित कपिलवस्तुको बाणगंगा नगरपालिकामा आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। नगरपालिकाको आयोजना तथा जनता माध्यमिक विद्यालय, पिपराको व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिताको शुक्रबार एक समारोहबीच उद्घाटन गरिएको हो।

नगरप्रमुख चक्रपाणी अर्यालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो। कार्यक्रममा वडा नं. २ का अध्यक्ष विष्णुप्रसाद पौडेल, वडा नं. ११ का अध्यक्ष नरेन्द्रप्रसाद चौधरी, शिक्षा निर्देशक दलबहादुर चौधरी, स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेललगायत जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधि, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी र सञ्चारकर्मीको सहभागिता रहेको थियो।
नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीले सहभागिता जनाउने प्रतियोगिता मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेका खेल प्रतिभा उजागर गर्नुका साथै खेलकुदप्रतिको रुचि र आकर्षण बढाउने अपेक्षा गरिएको छ।

राष्ट्रपति रनिङ शिल्ड प्रतिस्पर्धामा सीमित कार्यक्रम नभई विद्यार्थीमा अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व क्षमता र खेल भावना विकास गर्ने महत्वपूर्ण अवसर हुने लुम्बिनी प्रदेश सभा सदस्य एवम् पूर्व स्थास्थ्य मन्त्री विष्णुप्रसाद पंथीको भनाई रहेको छ । प्रदेश सभा सदस्य पंथीले विद्यालय तहबाटै खेलाडी उत्पादन गर्ने आधार तयार पार्न यस्ता प्रतियोगिता उपयोगी हुने धारणा राख्नु भयो ।
स्थानीय तहले खेलकुद पूर्वाधार, प्रशिक्षण र नियमित प्रतियोगितालाई प्राथमिकता दिदै आएको बताउदै विद्यालयस्तरमा पहिचान भएका प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलक्षेत्रसम्म पु¥याउन प्रतियोगिता लाभदायी हुने नगर प्रमुख चक्रपाणी अर्यालको भनाई रहेको छ।









प्रतिक्रिया