अर्थ-वाणिज्य

चालक लाइसेन्सको परीक्षा अव खुकुलो, प्रयोगात्मकमा ७० प्रतिशत ल्याए उत्तिर्ण



काठमाडौं, २ भदौं । सरकारले सवारी चालक अनुमति पत्रको परीक्षा प्रणाली खुकुलो बनाएकोछ। लिखित र प्रयोगात्मक परीक्षामा सहभागीमध्ये आधाजति उतीर्ण हुने गरी परीक्षा प्रणालीलाई खुकुलो बनाइएको यातायात व्यवस्था विभागले जनाएको छ । साविकको परीक्षा प्रणालीमा एक तिहाईभन्दा कम मात्रै उतीर्ण हुने गरेका थिए ।यातायात व्यवस्था विभागले ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मार्फत परीक्षालाई खुकुलो बनाएर पास हुने दर बढाउन लागेको हो ।

परीक्षा प्रणाली कडा हुँदा धेरै सहभागी अनुत्तीर्ण भएपछि यसलाई खुकुलो बनाइएको विभागले जनाएको छ । सवारी चालक अनुमतिपत्र परीक्षाको लिखित र प्रयोगात्मक दुबैमा परिवर्तन गरिएको विभागका प्रवक्ता डा।लोकनाथ भुषालले जानकारी दिए ।लिखित परीक्षाका लागि विभागको वेवसाइटमा प्रश्न राखिएको छ । वेवसाइटमा राखिएका पाँच सय प्रश्न मध्येबाट यातायात व्यवस्था कार्यालयले २५ प्रश्न निकाल्ने प्रवक्ता डा।भुषालले बताए । कुन खण्डबाट कति प्रश्न सोधिन्छ भन्ने मापदण्डमा नै उल्लेख गरिएको छ ।

कार्यालयले त्यसैका आधारमा प्रश्न छापेर परीक्षा सञ्चालन गर्नेछ । नयाँ मापदण्ड अनुसार परीक्षामा पास हुनका लागि चाहिने नम्बर पहिलेभन्दा लिखित परीक्षाका लागि बढाइएको छ भने प्रयोगात्मक परीक्षाका लागि भने कम गरिएको छ ।पहिले प्रयोगात्मक परीक्षामा सहभागीले शतप्रतिशत अङ्क ल्याउनुपर्नेमा अहिले ७० सम्म ल्याए पुग्छ भने लिखित परीक्षामा पहिले ५० प्रतिशत उत्तीर्ण अङ्क थियो भने अहिले त्यसलाई बढाएर ६० बनाइएको छ । परीक्षार्थीलाई सजिलो बनाउनका लागि प्रयोगात्मक परीक्षामा पास गर्न चाहिने नम्बर कम गरिएको हो ।

लिखित परीक्षामा सीमित प्रश्नबाटै आउने भएकाले उत्तीर्ण अङ्क पहिले ५० भएकामा अहिले ६० बनाइएको उनले बताए । प्रयोगात्मक परीक्षामा सामान्य खालका गल्ती भइहालेमा पनि सहभागी उत्तीर्ण नहुने गरेकामा अहिले ससाना गल्ती गरे पनि अनुत्तीर्ण नहुने व्यवस्था गरिएको छ । प्रयोगात्मक परीक्षामा आठ वटा आधार रहेकामा कुनैमा गल्ती गर्नै नहुने र कुनैकुनैमा सानो गल्ती भइहालेमा पनि पास नै हुने प्रवक्ता भुसालले बताए ।

अब पहेंलो धर्कामा छुँदा, एक पटक केही गरी गाडी बन्द भएमा वा मोडमा बत्ती नबाल्दा पनि छुट दिइने छ । भुसालले भने, ‘उकालोमा रोकर अड्याउनुपर्नेमा गल्ती हुँदा भने फेल हुनेछ ।’ भारत, चीन, बेलायत, अमेरिकालगायतका देशमा भन्दा हाम्रो अप्ठेरो परीक्षा प्रणाली भएकाले परीक्षा प्रणाली केही सजिलो बनाउन लागिएको विभागले जनाएको छ ।अरु देशमा ६०/७० प्रतिशतसम्म पास दर रहेकामा नेपालमा २५र३० प्रतिशतको हाराहारीमा मात्रै छ । नेपालमा सवारी चालककै कारणले दुर्घटना बढेको भन्दै परीक्षा प्रणाली थप कडा हुनुपर्ने विषय उठिरहँदा विभागले भने यसलाई खुकुलो बनाउन लागेको छ ।

चालकको व्यवहारका कारण दुर्घटना हुने र दुर्घटनाको परीक्षा प्रणालीमा सम्बन्ध नहुने विभागका प्रवक्ता डा।भुसालले बताए । परीक्षा प्रणाली कमजोर हुँदा दुर्घटना बढी हुन्छ भन्ने कुनै पनि अध्ययनले नदेखाएको उनको भनाई छ ।दुर्घटना चालकले नजानेर वा हेलचेक्र्याइको कारणले हुने गरेको छ । चालकले मादक पदार्थ खाएर सवारीसाधन चलाएर दुर्घटना भएको पाइन्छ । ‘कुनै पनि चालकले आफू परिपक्व नभइ सडकमा जाँदैन, ज्यानको माया सबैलाई हुन्छ,’ भुसालले भने । विभागले मापदण्ड लागू गरिसकेको भए पनि अहिले यातायात कार्यालय बन्द भएकाले खुल्नासाथ परीक्षा नयाँ प्रणालीमा लिइनेछ । मापदण्ड जेठदेखि लागू गरिएकोमा साउनमा केही संशोधन गरिएको हो ।

प्रकाशित : २ भाद्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६