रूपन्देही, १७ कात्तिक
पछिल्लो समय स्वस्थ जीवनशैलीप्रति मानिसको आकर्षण बढ्दै जाँदा रुपन्देहीमा निःशुल्क योग तथा ध्यान साधना अभियान विस्तार हुँदै गएको छ । शारीरिक तथा मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको अभियानअन्तर्गत जिल्लाका विभिन्न स्थानमा सञ्चालन भइरहेका कार्यक्रममा दुई हजारभन्दा बढी व्यक्ति सहभागी भएका छन् । गङ्गा कार्कीले झन्डै दुई वर्षअघि सुरु गर्नुभएको निःशुल्क योग साधना अभियान अहिले रुपन्देहीका दर्जनभन्दा बढी स्थानमा विस्तार भएको छ । बुटवल, भैरहवा, रोहिणीपुर, सालझण्डी, देवदह र लुम्बिनीलगायत क्षेत्रमा विभिन्न समयमा योग तथा ध्यानका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । व्यस्त दैनिकी, असन्तुलित खानपान, शारीरिक निष्क्रियता तथा तनावपूर्ण जीवनशैलीका कारण देखिने स्वास्थ्य समस्याप्रति सचेत गराउँदै नियमित योग अभ्यास गर्ने बानीको विकास गर्न अभियान सञ्चालन गरिएको कार्कीले बताउनुभयो । अभियानमा सहभागी हुनेहरूमा महिला, पुरुष, युवा तथा ज्येष्ठ नागरिकसमेत रहेका छन् । नियमित योग अभ्यासले शरीरलाई सक्रिय बनाउनुका साथै मानसिक शान्ति, सकारात्मक सोच र अनुशासित जीवनशैली विकास गर्न सहयोग पुगेको सहभागीहरूको अनुभव छ । ओमसतिया गाउँपालिका–४ की ज्योति जिसी नियमित योग अभ्यासबाट आफ्नो स्वास्थ्य र दैनिक जीवनशैलीमा सकारात्मक परिवर्तन आएको बताउनुहुन्छ । पहिले शरीर दुख्ने र थकान महसुस हुने समस्या रहेकामा नियमित योग गर्न थालेपछि शरीर हलुका र सहज महसुस हुन थालेको उहाँको अनुभव छ । चिकित्सकको सल्लाहअनुसार सुगर तथा थाइराइडसम्बन्धी औषधिको मात्रा घटेको उहाँले बताउनुभयो । योग तथा ध्यानले मानिसको शारीरिक स्वास्थ्यसँगै मानसिक अवस्थामा समेत सकारात्मक प्रभाव पार्ने विपश्यना गुरु गङ्गाप्रसाद कोइरालाले बताउनुभयो । नियमित योग र विपश्यना साधनाले मानिसलाई शान्त, सकारात्मक सोचयुक्त र सत्मार्गमा अघि बढ्न प्रेरित गर्ने उहाँको भनाइ छ । विपश्यना अभ्यासले व्यक्तिमा आत्मअनुशासन, धैर्य, संयम र सकारात्मक दृष्टिकोण विकास गर्न सहयोग पु¥याउने उहाँले बताउनुभयो । मानसिक तनाव व्यवस्थापन र जीवनप्रतिको दृष्टिकोण सकारात्मक बनाउन ध्यान साधना उपयोगी हुने उहाँको धारणा छ । भैरहवास्थित नथुमल गिनिया देवी ट्रस्टको भवनमा समेत निःशुल्क विपश्यना साधना सञ्चालन हुँदै आएको स्थानीय सन्तोष रायमाझीले बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा सञ्चालन हुने योग तथा ध्यानका कार्यक्रममा हालसम्म दुई हजारभन्दा बढी व्यक्ति जोडिएको उहाँको भनाइ छ । योग तथा ध्यान अभियानमा सहभागीहरू व्यक्तिगत स्वास्थ्यमा सुधार ल्याउने अभ्याससँगै विभिन्न सामाजिक गतिविधिमा समेत सक्रिय हुन थालेका छन् । सामूहिक रूपमा सञ्चालन हुने यस्ता कार्यक्रमले समुदायका मानिसबीच आपसी सद्भाव, सहयोग र सामाजिक एकताको भावना विकास गर्नसमेत सहयोग पु¥याएको सहभागीहरू बताउँछन् । स्वस्थ समाज निर्माणका लागि नियमित शारीरिक व्यायाम, सन्तुलित खानपान र मानसिक स्वास्थ्यप्रति सचेतना आवश्यक रहेको अभियानमा संलग्नहरूको भनाइ छ । स्थानीय तह, सामाजिक सङ्घसंस्था र समुदायको सहकार्यमा यस्ता निःशुल्क कार्यक्रमलाई निरन्तरता दिन सके सबै उमेर समूहका नागरिकलाई स्वस्थ जीवनशैलीसँग जोड्न सकिने उनीहरूको विश्वास छ । –––









प्रतिक्रिया