काठमाडौं, ९ असोज । अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले प्रचण्डपथ छाडेदेखि पार्टीमा विघटन शुरु भएको टिप्पणी गरेका छन् ।आज (शनिबार )चौंरीदेउराली–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले विचारको केन्द्रीकरणको महत्व अहिले आएर आफूहरुले बुझेको पनि बताएका छन् । ‘हामीले प्रचण्ड पथ जुन दिन छोड्यौं, त्यो दिनबाट पार्टीमा विघटन शुरु भयो,’ शर्माले भने, ‘गुटबन्दी शुरु भयो । अनेक–अनेक समस्यामा पार्टी गयो । विचारको केन्द्रीकरण, संश्लेषणको कति महत्व हुने रहेछ भन्ने कुरा आज आएर हामीले बुझेका छौं ।’
प्रचण्ड पथमा नाम मात्रै नजोडिएर त्यसमा उत्पीडित वर्गको भावना पनि जोडिएको शर्माको भनाइ छ । ‘हामीले जनयुद्धका बेलामा विचार केन्द्रित गरेका थियौं,’ उनले भने, ‘प्रचण्ड पथ निर्माण गरेका थियौं । प्रचण्ड पथ भन्दा प्रचण्डको नाम जोडिएको थियो । त्यो नाम जोडिएको कुरा मात्रै होइन । नेतृत्वमा उहाँ रहेको कारण उहाँको नाम जोडियो ।’ शर्माले थपे, ‘त्यसभित्र हामीले आमउत्पीडित जनताको भावना, पछाडि परेका सबैको भावना जोडेर सामान्तवादका विरुद्ध प्रष्टरुपमा प्रहार गरेका थियौं ।’








प्रतिक्रिया