जानु पाण्डे
कपिलवस्तु १४ मंसिर । विद्यालयले शिक्षक भर्ना गर्न नसक्दा कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्राविधिक अध्ययन गर्ने विद्यार्थी पढाईबाट बञ्चित भएका छन् । नगरपालिकाको जानकी माध्यामिक विद्यालयका सिभिल इन्जिनियरिङ अध्ययन गर्ने ३३ विद्यार्थी समस्यामा परेका हुन् । भर्ना विषयलाई लिएर व्यवस्थापन समितिमा विवाद बढेपछि तीन महिनादेखि विद्यार्थीले सास्ती खेप्नुपरेको स्थानीय अभिशेख यादवले बताउनुभयो ।
विद्यालय प्रशासनले भदौ १५ गते विज्ञापन प्रकाशन गरी सिभिल इन्जिनियरतर्फ १ जना उच्च मावि तह, १ जना माध्यामिक तह र १ जना निम्न माध्यमिक तह गरी तीन जना शिक्षक र १ जना ल्याव असिस्टेन्ट पदमा आवेदन खुलाएको थियो । छनौट प्रक्रिया सुरु गर्ने बेलामा विद्यालय व्यवस्थापन समितिमा विवाद भएपछि नियुक्ती प्रक्रिया सेलाएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद यादवले बताउनुभयो । यता विद्यार्थीले असोजदेखि भौतिक उपस्थितीमा पठनपाठन सुरु गरेपनि मुख्य विषयको शिक्षक नहुँदा समस्या भएको बताउनुभयो ।
नयाँ पाठ्यक्रमअनुसार ९ विषय अध्ययन गर्नुपर्ने हुन्छ । तर ५ ओटा विषयको कक्षा सञ्चालन नहुँदा पढाइमा असर गरेको उहाँले बताउनुभयो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सञ्जय अग्रहरीले विद्यालय व्यवस्थापन समितिमा वडा कार्यालयबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको विवादले नियुक्ती प्रक्रियामा जटिलता उत्पन्न गराएको बताउनुभयो ।
१४ मंसिर २०७८, मंगलबार
प्रतिक्रिया