खोज–अनुसन्धान

बिश्व -गगनको अग्नी परीक्षा शुरु ,के सक्षम सावित होलान त ?



काठमाडौं ११ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट मूल नेतृत्व परिवर्तन नभएपनि पुस्तान्तरणको सन्देश गएको अधिकांशको आँकलन छ । खासगरी पदाधिकारी र केन्द्रीय समितिमा युवा नेताहरूको वर्चस्वले कांग्रेस रुपान्तरणको प्रक्रिया प्रारम्भ भएको दाबी गर्नेहरूलाई बल पुगेको छ ।पुस्तान्तरण र रुपान्तरणको चर्चाको केन्द्रभागमा कांग्रेसका नवनिर्वाचित २ जना महामन्त्री रहेका छन् । कांग्रेसबाहिर पनि चर्चा कमाएका गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएका छन् । उनीहरूको जितले कांग्रेसभित्र नयाँ तरंग पैदा गरेको छ । यद्यपि मिडिया, नागरिक समाज र सामाजिक सञ्जालमा ‘टक अफ दी टाउन’ बनेका महामन्त्रीद्वयको कार्यसम्पादनको वास्तविक परीक्षण भने अब सुरू हुनेछ ।

गगन-विश्वको परीक्षा :
आजसम्म मूल नेतृत्वलाई प्रश्न गर्ने भूमिकामा रहेका २ युवा नेता कांग्रेसको शीर्ष नेतृत्वमा पुगेका छन् । कांग्रेसको आन्तरिक जीवनमा महामन्त्रीलाई प्रभावशाली र कार्यकारी पदका रूपमा लिइन्छ । निर्वाचित दुवै महामन्त्री चुनावी प्रतिस्पर्धामा सभापति शेरबहादुर देउवाविरुद्धको प्यानलमा थिए । निर्वाचित भएपछि दुवैले सभापतिसँग सहकार्य गरेर कांग्रेसलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।राजनीतिक वृत्तमा कांग्रेसले मात्रै नभएर समाजले नै अपेक्षा गरेका नेतामध्येमा गगन-विश्व पर्दछन् । उनीहरूले राजनीतिमा निर्माण गरेको भाष्यप्रति आम नागरिकको चासो बढेको पाइन्छ । राजनीति नरुचाउने मात्रै होइन कांग्रेस नै नरुचाउनेले पनि गगन-विश्वको कामलाई धैर्यताका साथ मूल्यांकन गर्नेछन् । यसर्थ गगन-विश्व दुवैले कांग्रेस महामन्त्रीका रुपमा अबका ४ वर्ष व्यक्तिगत र पार्टी दुवैको राजनीतिक जीवनलाई उपलब्धीपूर्ण बनाउने गरी काम देखाउनुपर्नेछ ।

के गर्न सक्छन् गगन-विश्वले ?
पार्टीभित्र विधि पद्दतिबारे सवाल उठाउँदै आएका दुवै नेता महामन्त्रीको जिम्मेवारीमा छन् । महामन्त्रीका रूपमा अब सवाल उठाउने होइन कि ‘सवाल नउठ्नेगरी’ काम गर्नुपर्ने अवस्था महामन्त्रीद्वयलाई छ । त्यस्तो काम व्यक्तिगत रुची वा लहडबाट नभइ कांग्रेसको विधानद्वारा निर्देशित हुनुपर्नेछ ।कांग्रेस विधानले दिएका १२ काम, कर्तव्य र अधिकार नै महामन्त्रीद्वयको जिम्मेवारीको वैधानिक आधार हो । कांग्रेस विधानले पार्टीको केन्द्रीय कार्यालय महामन्त्री मातहत रहने व्यवस्था गरेको छ । त्यस्तै महाधिवेशन, महासमिति, केन्द्रीय समिति र कार्यसम्पादन समितिलगायतको निर्णय कार्यान्वयन गर्ने अधिकार पनि विधानले महामन्त्रीलाई दिएको छ ।

त्यस्तै दैनिक कार्यसञ्चालमा सभापतिलाई सघाउने र आवश्यक जानकारी र सुझाव दिने जिम्मेवारी पनि महामन्त्रीकै हो । कांग्रेस विधानले महामन्त्रीलाई संगठनसँग सम्बन्धित बढी जिम्मेवारी प्रदान गरेको छ । पार्टीको केन्द्रीय समिति, महासमिति र महाधिवेशनमा प्रतिवेदन र प्रस्ताव पेश गर्ने दायित्व पनि महामन्त्रीकै हो ।यो अर्थमा पार्टीको आन्तरिक समीक्षा र राजनीतिक धार निर्माणमा महामन्त्रीले योगदान गर्न सक्छन् । विधानले महामन्त्रीद्वयलाई पार्टीको केन्द्रीय निकायका निर्णयहरू प्रमाणित गर्ने अधिकार दिएको छ भने क्रियाशील सदस्यताबारे विशेष अधिकार दिएको छ ।

कांग्रेस विधानमा सभापतिले तोकेको महामन्त्रीको संयोजकत्वमा तीनजना केन्द्रीय सदस्य सम्मिलित ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ रहने व्यवस्था गरेको छ । सो समितिले देशभरीको सदस्यको अभिलेख राख्ने, सम्बन्धित निकायलाई अभिलेख राख्न लगाउने, सदस्यता वितरण र नवीकरणको अनुगमन गर्ने र आवश्यक निर्देशन दिने विधानमा उल्लेख छ । मुख्यतः यसबाहेकका अधिकारहरू तोकिएबमोजिम हुने व्यवस्था कांग्रेस विधानले गरेको छ ।विधानले दिएका अधिकारहरुको कार्यान्वयनले कांग्रेसको आन्तरिक व्यवस्थान, सदस्यता प्रणाली र संगठ सुदृढीकरणमा महामन्त्रीद्वयले योगदान गर्न सक्छन् । त्यसबाहेक कांग्रेसको पदाधिकारीका हैसियतले उनीहरूले राष्ट्रिय राजनीतिक र सार्वजनिक जीवनमा प्रस्तुत गर्ने व्यवहारले पनि पार्टीप्रति जनताको ‘छवि’ निर्माण हुन मद्दत पुग्दछ ।

सभापति नरिझाइ सुखै छैन :
कांग्रेस विधानमा बहुपदको व्यवस्था भए पनि सभापति सबैभन्दा शक्तिशाली छन् । सामुहिक नेतृत्व भनिए पनि सभापतिको तजविजी अधिकारले त्यसलाई सहज हुन दिँदैन । पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको मुख्य अधिकार नै सभापतिमा निहित रहेको छ । कांग्रेस विधानको दफा २५ को ४ मा ‘केन्द्रीय कार्यसमितिका पदाधिकारीको कार्य विभाजन गर्ने अधिकार’ सभापतिलाई दिइएको छ ।

जसअनुसार विधानले महामन्त्रीलाई दिएका मुख्य अधिकारहरू गगन र विश्वमध्ये कसलाई प्रत्यायोजन गर्ने भन्ने अधिकार सभापति देउवामै निहित छ ।यसकारण ‘पर्फमेन्स’ देखाउन महामन्त्रीले सभापतिलाई रिझाउनुको विकल्प छैन ।अघिल्लो कार्यसमितिमा सभापति देउवाले निर्वाचित महामन्त्री डा. शशांक कोइरालालाई भन्दा मनोनीत महामन्त्री पूर्णबहादुर खड्कालाई बढी जिम्मेवारी प्रत्यायोजन गरेका थिए । यसपटक दुवै महामन्त्री निर्वाचनबाट आएकाले जिम्मेवारी लिनकै लागि पनि सभापतिलाई रिझाउन जरुरी छ ।महामन्त्रीमा मात्रै होइन उपसभापतिमा पनि त्यस्तै अवस्था छ । कांग्रेस विधानमा उपसभापतिको काम, कर्तव्य र अधिकारसमेत उल्लेख छैन । उपसभापतिको नेतृत्वमा रहने नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुख २ मध्ये कुन उपसभापतिलाई तोक्ने भन्ने अधिकार सभापतिमै छ ।

गगन-विश्व सहकार्य कि टकराव ?
१४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित दुवै युवा नेतालाई भविष्यमा कांग्रेस हाँक्ने नेताको रुपमा कांग्रेस वृत्तमा चित्रण गर्ने गरिन्छ । विद्यार्थी राजनीतिदेखि नै अघिपछि गर्दै आएका दुईमध्ये को पहिले पार्टी सभापति बन्लान् ? भन्नेमा धेरैको चासो छ ।दुवै नेतालाई १५ औं महाधिवेशनमा सभापतिको आकांक्षीका रूपमा हेरिएको छ । दुवैले अलग-अलग गुटको अगुवाइसमेत गर्दै आइरहेका छन् । महामन्त्री भएपछि दुवै नेताले एक-अर्कासँग सहकार्य गरेर अगाडि बढ्ने बताएका त छन् तर त्यसमा ढुक्क हुनसक्ने अवस्था छैन ।भावी नेतृत्वका लागि प्रत्यासी रहेका कारण महामन्त्रीका रूपमा आफ्नो शक्ति सञ्चय र सुदृढ गर्ने प्रयत्न दुवैले गर्नेछन् । दुवै नेताको ‘सार्वजनिक छवि’ उस्तै खालको भएकाले पनि ‘व्यक्तित्वको टकराव’ नआउला भन्न सकिँदैन ।

प्रकाशित : ११ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६