अर्थ-वाणिज्य

गरिबको गरिब हुने अनि धनी वर्ग झन धनी हुने परिपाटी छ त्यसले देश ओरालो लाग्यो : माओवादी



काठमाडौं १५ पुस । माओवादीमा प्रतिवेदन र व्यवहारबीच विरोधाभास
चलिरहेको माओवादीको अधिवेशनमा अनुत्पादक लगानीले देशमा विकास भएन र आधारभूत वर्गमा लगानी पुगेन भन्ने कुरा उठ्यो । सँगसँगै आधारभूत वर्ग जहिले पनि गरिबको गरिब हुने अनि धनी वर्ग झन धनी हुने जुन परिपाटी छ त्यसले देशको अर्थतन्त्र ओरालो लाग्यो भन्ने अभिव्यक्ति पनि आयो । यसलाई सकारात्मक नै मान्न सकिन्छ ।

गरिबलाइ धनी बनाउनुपर्छ भन्ने ध्येय भएको माओवादी दस्तावेजलाई नकारात्मक भनिहाल्न हुन्न । हामी नेपाली त्यसमा पनि कम्युनिस्टले उत्पादनबारे सोच्ने हो, अझ गर्ने हो, गराउने हो । तर दस्तावेज प्रस्तुत भएको महाधिवेशनका प्रतिनिधि, पर्यवेक्षक र स्वयंसेवकको खल्ती चेक गर्ने हो भने अधिकांशसँग एकदुई नक्सा ट्रेस र पुर्जा भेटिन सक्छ ।

अझ पार्टीले अनुगमन गर्ने हो भने र अधिकांश नेताको मोबाइल ट्रयाकिङ गर्ने र फोन संवाद छानबिन गर्ने हो भने सायदै थोरै सदस्य चोखा भेटिएलान् ।
आचरणमा शुद्धता ल्याउन पार्टीको दस्तावेज पढेर, बुझेर जनताको घरगाउँ जाने एकाध नेतालाई जनताले विश्वास गर्ने छैनन् ।

दुईचार कम्पनीको सेयर नभएको नेता अनि दुईचार करोड लगानी गरेर नाफा कमाउने व्यापारी बोकेर जग्गा देखाउँदै किनबेच गराएर आएको कमिसनले घर चलाउने अनि जनताको सुखदुखमा समावेस हुने कार्यमा नखटेकालाई कसले चिन्छ र ?

हिजो जग्गादलाललाई नाङ्गेझार पारेर काट्नुपर्छ भन्ने कार्यकर्ता नै अहिले त्यही किसिमको दलाली गरेर परिवार पाल्न, अरुको दाँजोमा ठूलो घर बनाउन अनि छिमेकीको श्रीमतीको भन्दा धेरै हुनेगरी आफ्नी श्रीमतीका लागि धेरै सुन किन्न सफल भैरहेको अवस्था हो ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको दस्तावेज त उही हिन्दु धर्मको गीताजस्तो पो हुने देख्छु । गीतामा जेजे नगर भनिएको छ अहिले हिन्दु धर्मका ठूला मठाधीश मानिएकाहरु नै त्यसको उल्लंघन गर्दै नाम र दाम कमाइरहेको देखिरहेकै छौं । यो दस्तावेजको कत्तिको पालना होला र कत्तिको कम्युनिस्ट आचरणका कार्यकर्ता उत्पादन गर्ला ? यो पनि मनन गर्नुपर्ने देखिन्छ ।

अचम्मै छ, यहाँ रातारात सेयर मूल्य बढ्नु बढाउनुको कारण के होला ? त्यो नबुझी लहडमा लगानी गरिरहेकाहरुलाई उत्पादनमूलक लगानी गराउने वातावरण त राज्यले नै गर्नु-गराउनुपर्ने हो नि । अनि रातारात आनामा पचास हजार, एक लाख मूल्य बढाएर जग्गा किनबेच गराउन लागिपर्ने कम्युनिस्ट नेता कार्यकर्ताले उत्पादनमूलक क्षेत्रमा लगानी गराउन भूमिका कसरी खेल्लान् ?

सरकार सञ्चालनमा सहभागी भएको पार्टीले यत्तिको चिन्ता लिनु स्वाभाविक नै हो । तर सरकारले उक्त लगानीका लागि उचित वातावरण बनाइदिने, बजार सुपरीवेक्षण गरिदिने हो भने स्थायी लगानीमा नै जनता लाग्नेछन् । तर स्थायी लगानीको वातावरण छैन ।
चुनाव मुखैमा आएको बेला अध्यक्ष प्रचण्डले पार्टीको महाधिवेशनमा पुँजी बजार र घरजग्गामा गरिएको लगानीविरुद्ध ठुलै दस्तावेज ल्याउनुभएको छ ।

प्रचण्डको दस्तावेज मजदुर र श्रमजीवी बर्गकै हितमा छ, यसमा शंका छैन तर आजका मजदुर र श्रमजीवीहरु त्यसलाई बुझ्न तयार देखिँदैनन् र त्यो बुझाउन सक्ने कार्यकर्तासमेत छैनन् बरु बिरोधीले त्यसलाई तोडमोड गरेर जनता भड्काउन मज्जाले पाउने भए ।

समय र माहोल बुझ्न नसक्दा थप कति क्षति भोग्नुपर्ने हो, थाहा छैन । जनमत घट्ने गरी यस्ता दस्तावेज ल्याउने हिम्मत पनि के खाएर आउँछ, कस्ता सल्लाहकार छन्, कस्ता विज्ञहरु साथमा छन्, यस्ता प्रश्न पनि उठिरहेका छन् । वास्तवमा माओवादी र खासगरी प्रचण्डले यो व्यवस्थालाई पटक्कै उपयोग गर्न जानेनन्, अहिले यो निष्कर्ष निकाल्दा अन्यथा हुँदैन ।

यो कथालाईपनि एकपटक पढौं ।

एउटा ब्यापारी एउटा गाउँमा गयो र भन्यो,

” म तपाईंहरुसँग कुकुर खरिद गर्न आएको हुँ । गाउँमा जति कुकुर छन् म प्रति कुकुर रु. एक हजारको दरले दिन्छु ।”

गाउँलेहरुले गाउँमा भएका जति कुकुर ल्याए र उसलाई रु. एक-एक हजारको दरमा बेचे ।

केहि हप्तापछि फेरि उ गाउँमा गएर भन्यो,

” अब म प्रति कुकुर रु. दुई हजार दिन्छु ।”

फेरि गाउँलेहरुले गाउँमा बाकी रहेका र वल्लो-पल्लो गाउँमा भएका सबै कुकुरहरु समातेर ल्याए र रु. दुई हजारको दरले बेचे ।

फेरि केहि हप्ता पछि उ गाउँ गयो र अब प्रति कुकुर रु.पाँच हजारमा किन्ने कुरा सुनायो । अनि आफु बिशेष कामले शहर बाहिर जाने र उ नआइन्जेल कामको जिम्मा आफ्नो असिस्टेन्टले जिम्मा लिने कुरा बतायो र फेरि भेटौंला भनेर बाटो लाग्यो ।

गाउँलेले असिस्टेन्टलाई भने,
” हामीसँग भएको सबै कुकुरहरु बेचिसकेका छौ , हामीसँग
अरु छैनन् ।”

असिस्टेन्टले आइडिया लगायो,

” ल म तपाईंहरुलाई एउटा आइडिया दिन्छु, त्यो के भने मेरो मालिकसँग भएको कुकुरहरु रु. चार हजारमा किन्नुहोस् र
मेरो मालिक आएपछि उनीहरुलाई रु.पाँच हजारमा बेच्नुहोस् । तपाईंहरु सबैलाई रु. एक – एक हजार फाईदा हुँनेछ ।”

यो कुरामा सबै गाउँलेको चित्त बुझ्यो । उनीहरुले आफैले एक हजार र दुई हजारमा बेचेको कुकुरहरु चार- चार हजारमा किने ।

त्यसपछि हप्ता बित्यो, महिना बित्यो र साल बित्यो । गाउँमा न ब्यापारी गयो न असिस्टेन्ट नै । जता हेर्यो गाउँमा कुकुरहरु मात्रै ।

प्रकाशित : १५ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६