अन्तर्राष्ट्रिय

गायक राजेशपायल माथी स्टेजमा आक्रमण हुँदा किन गुपचुप राख्नखोजे त आयोजक ?



अमेरिका १९ पुस : अंग्रेजी नयाँ वर्ष–२०२२ को पूर्वसन्ध्या अर्थात् ‘न्यू इयर इभ’ अमेरिकाको न्यूयोर्कमा ‘न्यू इयर इभ–२०२२’ को सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको आयोजक थियो, बुद्ध ट्याक्स नामक एउटा कम्पनी । कार्यक्रमको एकमात्रै आकर्षण थिए लोकप्रिय गायक राजेशपायल राई ।

पछिल्लो समयमा देशभित्र होस् वा देशवाहिर अत्याधिक डिमान्डका गायक हुन् ‘राई इज किङ्ग’बाट सुपरिचित गायक राजेशपायल । उद्घोषकले स्टेजमा बोलाएपछि राजेशपायल नयाँ वर्षको शुभकामना बाढ्दैं स्टेजमा पुगे ।

‘राई इज किङ’ लेखिएको ब्यानर अगाडि राजेशपायलले दर्शकलाई सम्बोधन गरे । सधैं जसरी उन्मुक्त भएर गीत सुरु गरे । ‘अञ्जानैमा भुल भयो कि’ एक युवा स्टेजमा पुग्छन् । राजेशपायल स्टेजमा उक्लिएको करिब १२ मिनेटमा स्टेज पुगेका ती व्यक्तिले गायक राईलाई पछाडिबाट घाँटिमा पाखुराले समाएर तान्छन् । बलपूर्वक अंकमाल गर्छन् । राजेशपायलले फुत्किन खोज्छन् । त्यसपछि ती युवकले उनलाई घाँटीमै न्याकेर लछार्न खोज्छन् ।

एकाएक स्टेजमा यस्तो हर्कत देखिएपछि दर्शक र आयोजक केही छिन रनभुल्लमा पर्छन् । तर राजेशलाई लछारपछार गरिएपछि उनी बिरुद्ध हुटिङ्ग सुरु हुन्छ । आयोजकले उनलाई पक्रेर पछि लैजान्छ ।

स्टेजमा यस्तो हर्कत भएपछि धेरै दर्शकलाई लागेको थियो, ‘अब कार्यक्रम हुन्न ।’ तर राजेश सम्हाल्छिन् । राजेशले भने :

थ्यांक्यु…… केही छैन । पछाडिबाट आएको अंगालो पनि मिठै हुन्छ । अगाडिबाट आएको ज्वालामुखी पनि निल्छु, पचाउँछुजस्तो लाग्छ । तर, पछाडिबाट आएको अंगालो पनि स्वीकार्य छ ।

राजेशपायल राई न कहिले हार्न जान्दछ, न कहिल्यै भाग्न जान्दछ । किनकी राजेशपायल राई त्यो देशको माटोले जन्माएको हो, जुन देशको माटो छुँदा पनि स्वर्ग पुगेको अनुभूति हुन्छ ।

आज नयाँ वर्षको दिन, सबै रिसरागहरू डिलिट होउन् । तपाईंहरूले चाहेको पूरा होस् । पैसा त आज कमाइन्छ, भोलि हुँदैन । तर, यो जुन माया–प्रेम छ । त्यो भोलि पनि रहन्छ । मलाई केही छैन । टिकटकमा भाइरल हुनका लागि त्यस्तो गर्नुभएको होला । पछि सोचेर आफैं आत्महत्या गर्नुहुन्छ जस्तो लाग्छ ।

राजेशले यति भनेर निरन्तर दुई घन्टा गीत गाएका थिए । आफ्नो गीत सुन्न आएका दर्शकहरुलाई उनले कति पनि निराश बनाएनन् । बरु बिचबिचमा उत्साह पैदा गर्ने गरी आफ्नो कुरा सुनाइरहे ।

कार्यक्रमको प्रमुख नायकको सुरक्षाको जिम्मा आयोजकको हो । तर राजेशमाथि स्टेजमै आक्रमण भयो । यति आक्रमण भएपछि राजेश स्टेज छोडेर गएको भए अन्याथा हुने थिएन । तर आयोजक र दर्शकहरुलाई सम्मान गरेर उनले विचलित नभई प्रस्तुती मात्रै थिएनन् भरपुर मनोरञ्जन दिए ।

घटनालाई गुपचुप राख्ने प्रयास

आयोजक संस्थाका प्रमुख पशुपति श्रेष्ठ

धेरैलाई लागेको थियो, कार्यक्रम लगत्तै आक्रमणकारीको खोजी हुनेछ । कारबाहीको लागि प्रक्रिया सुरु गरिनेछ । तर आयोजकले घटनालाई सामान्य भनेका छन् । राजेशपायललाई दुव्र्यवहार गर्ने व्यक्ति उनकै ‘डाइहार्ड फ्यान’ भन्दै उनीहरु पन्छिएका छन् ।

राजेशलाई आक्रमण गर्ने ती व्यक्ति पासाङ दावा शेर्पा भएको बताइन्छ । उनी ज्याक्सन हाइट्सस्थित फयुलनामक टिबेटन रेस्टुरेन्टका काम गर्ने स्रोतको दाबी छ । राजेशप्रति सुभेच्छा राख्नेहरुले ती आक्रमणकारीलाई पक्राउ गरेर कारबाहीको माग गरेका छन् । तर आयोजकले भने त्यो पहल नगरेपछि दर्शक र सुभेच्छुकहरु रुष्ट बनेका छन् ।

आयोजक संस्थाका प्रमुख कार्यकारी अधिकृत पशुपति श्रेष्ठ हुन् । उनले घटनापछि औपचारिक केही बोलेका छैनन् । तर आयोजकमध्येका

केशव राईले यसलाई ठूलो इस्यू बनाउन आवश्यक नभएको भन्दै गैरजिम्मेवार अभिव्यक्ति दिएका छन् । घटना कुन उद्देश्यको साथ भएको हो ? त्यसलाई गम्भिर रुपमा लिएर छानविन गरिनुपर्ने राजेशका सुभेच्छुकहरुको माग छ ।

यसैविच सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्दै उनीहरुले आयोजकको कमजोरीका कारण कलाकारमाथि हातपात भएको भन्दै खेद व्यक्त गरेका छन् ।

गायक प्रमोद खरेलले आइतबार सामाजिक सञ्जालमा पोष्ट गर्दै अमेरिकाको न्यूयोर्कमा कार्यक्रमको सिलसिलामा राजेश पायल राईमाथि भएको दुर्व्यवहार अत्यन्त खेदजनक र आपत्तिजनक भएको बताएका छन् । ‘कार्यक्रम व्यवस्थापनको कमजोरी त देखियो नै, तर हामी नेपाली समुदायका भेला, गोष्ठी, कार्यक्रम माथि नै प्रश्न उठ्न सक्ने यस्ता घटनाले पक्कै पनि राम्रो सन्देश दिँदैन’ उनले भने ।

हास्य कलाकार केदार घिमिरेले वरिष्ठ गायक राजेश पायल राई माथि भएको दुर्व्यवहार अशोभनीय भएको बताए । लोक तथा दोहोरी गायक प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले गायक राईमाथि भएको अशिष्ट, अभद्र र अमर्यादित व्यवहारको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले घोर निन्दा र भत्र्सना गरेको बताएका छन् । उनले आयोजक समक्ष घटनाको सत्यतथ्य बाहिर ल्याउन समेत माग गरे ।

लोकदोहोरी गायक तथा अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले सो घटनाप्रति दुःख व्यक्त गरेका छन् । ‘मैले थाहा पाए र बुझेअनुसार दुर्व्यवहार गर्ने व्यक्ति फ्यान हुन्’ खनालले भने, ‘सम्मान जनाउन जाँदा अपमानजनक व्यवहार भयो ।’ कुनै पनि कलाकार माथि स्टेजमा त्यस्तो घटना हुनु दुःखद भएको खनालले बताए ।

कलाकार उमेश राई ‘फुलन्देकी आमा’, गायक तथा संगीतकार थानेश्वर गौतम लगायत थुप्रै कलाकर्मीले गायक राईमाथि अमेरिकामा भएको घटनाको निन्दा गरेका छन् ।

प्रकाशित : १९ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६