संयुक्त राष्ट्रसंघले यमनको कारागारमा भएको हवाई हमलाको निन्दा गरेको छ। हमलामा परी ७० जना मानिसको ज्यान गएको थियो।
यमनको उत्तर पश्चिमी भेगको रहेको सादा भन्ने स्थानमा हवाई आक्रमण भएको हो जुन क्षेत्र हुथी विद्रोहीको केन्द्रका रुपमा स्थापित छ। राष्ट्रसंघका महासचिव एन्थेनियो गुटेरसले वक्तव्य जारी गर्दै बढ्दो तनाव रोक्न आग्रह गरेका हुन्।
साउदी अरेबियाको नेतृत्वको गठबन्धनले वक्तव्य मार्फत् आफूले हवाई हमला नगराएको दावी गरेको छ। गठबन्धनले उक्त क्षेत्र निसानामा समेत नरहेको जनाएको छ।
सन् २०१५ देखि साउदीको नेतृत्वमा हुथी विद्रोहीविरुद्धको युद्ध जारी छ। दशौं हजार सर्वसाधारण, १० हजारभन्दा धेरै बालबालिकाको मृत्यु र घाइते भइसकेको छ यस युद्धमा। दशौं लाख मानिसहरु पलायन भएका छन् उक्त क्षेत्रबाट। युद्धसँगै भोकमरीको सिकार बनेपछि उनीहरु त्यहाँबाट विस्थापित हुन पुगेका हुन्।
घन्टौं लामो हवाई आक्रमण थामिएपछि उद्धारकर्मी पुगेका छन्। उनीहरुले अहिले पनि पुरिएका मानव शरीर निकालिरहेका छन्। एमएसएफ अस्पतालमा २ सय भन्दा धेरै घाइतेलाई पुर्याइएको छ। हुथीले सञ्चालन गरेको टेलिभिजनमा देखाइएको दृश्यअनुसार मानिसहरुले भग्नावशेष हटाइरहेका छन्।
‘धेरै शव घटनास्थलमा देखिन्छ। धेरै मानिसहरु हराइरहेका पनि छन्,’ एमएसएफ अस्पतालका प्रमुख अहमद महतलाई उदृत गर्दै एएफपीले जनाएको छ। उनका अनुसार हवाई आक्रमणमा कति जनाको ज्यान गयो यकिन गर्न सकिने स्थिति छैन।
तीन जना बालबालिका त फुटबल खेलिरहेकै अवस्थामा मारिएका छन्।
साउदी अरेबियाले हुदयादमा भने हवाई आक्रमण गरेको छ। हुथीहरुले गत सोमवार संयुक्त अरब इमिरेटसमा ड्रोन र मिसाइल आक्रमण गरेपछि गठबन्धनले हवाई आक्रमणलाई तीब्र पारेको छ। युएईमा भएको आक्रमणमा तीन जनाको ज्यान गएको थियो।
प्रतिक्रिया