प्रदेश

एकीकृत भन्सार चेकपोष्ट नहुँदा व्यवसायीलाई सास्ती



बुटवल, १५ माघ । नेपालको दोस्रो ठूलो भन्सार नाका मानिने भैरहवामा एकीकृत भन्सार चेक पोष्ट आईसिपी निर्माण नहुँदा व्यवसायीले सास्ती झेलेका छन । नेपाल र भारतबीच सम्झौता भएको डेढ दशकसम्म पनि सम्झौता कार्यान्वयन नहुँदा व्यवसायीले अतिरिक्त शुल्क बाहेकका विभिन्न झन्झट व्यहोर्न बाध्य भएका छन । सन् २००७ मा नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुसार भैरहवासहित वीरगञ्ज, विराटनगर र नेपालगञ्ज नाकामा आईसिपी निर्माण गर्ने लक्ष्य राखिएको थियो । नेपाल सरकारले जग्गा उपलब्ध गराउने तथा भारतीय पक्षले प्राविधिक तथा पूर्वाधार निर्माण गर्ने सम्झौता भएपनि काम अगाडि बढ्न नसकेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । सम्झौताअनुसार सो चेकपोष्ट वीरगञ्ज, विराटनगरमा सम्पन्न भइसकेको छ र नेपालगञ्जमा निर्माण भइरहेको छ ।

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले आईसिपी निर्माणका लागि नेपालका तर्फबाट आवश्यक जग्गा अधिग्रहण भइसकेको जानकारी दिँदै भारतीय क्षेत्रमा जग्गा अधिग्रहण अझै बाँकी रहेको र केही समस्या भएकाले आईसिपी निर्माण कार्य अघि बढ्न नसकेको बताए।

“हामी आईसिपी निर्माणका लागि तयारी अवस्थामा छौं, ५२ बिगाहा जग्गा पनि अधिग्रहण भइसकेको छ, अब भारतीय क्षेत्रमा आवश्यक जग्गा चाडै उपलब्ध भए निर्माण कार्य सुरु होला”, उनले भने । नेपाल भारतबीच हुने आयात निर्यात सहजरुपमा गराउने उद्देश्यले सन् २००७ मा आईसिपी निर्माणका लागि दुई देशबीच हस्ताक्षर भएको थियो । आईसिपीमा भन्सार कार्यालय, बैंक, पशु तथा कृषि क्वारेन्टाइन, भन्सार प्रयोगशालालगायतका आवश्यक पूर्वाधार निर्माण हुने बताइएको छ । नेपाल भारत दुबैतर्फ एकै प्रकृतिका संरचना निर्माण हुनेछ ।

नेपाल भन्सार एजेन्ट सङ्घका अध्यक्ष मधु पन्थीले भैरहवा नाकामा आईसिपी नबन्दा सो नाका हुँदै आयात निर्यात गर्ने व्यवसायीलाई लामो समय लाग्दा अतिरिक्त शुल्क बढने भएकाले अन्य नाकातिर आकर्षित भइरहेको बताउनुभयो । उहाँले नेपाली पक्षबाट सबै तयारी हुँदासमेत कुटनीतिक पहलको कमीले भारतीय पक्षले ढिलाई गरेकाले समन्वय गरेर काम अगाडि बढाउनुपर्ने बताए ।

उक्त नाकामा भारततर्फ भन्सार जाँचपास र पार्किङको पर्याप्त पूर्वाधार छैन । भारतले भन्सार जाँचपासको काम सडकमै गर्दै आएको छ । भारतीय बजार नौतनवा–सुनौली हुँदै बेलहियासम्मको दूरी करिव ७ किलोमिटर छ । तर मालबाहक गाडीलाई सो दूरी पार गर्न धेरै समय लाग्दै आएको छ । नेपाल भारत दुवैतर्फ नाका वारपार निर्माण गरिने इन्टिग्रेटेड चेकपोष्टको मुख्य उद्देश्य दुई देशबीचको व्यापार तथा वाणिज्यलाई सहज बनाउनु हो जहाँ भन्सार, बैंक, प्लान्ट र पशु क्वारेन्टाइन, भन्सार प्रयोगशाला लगायतका आवश्यक सेवा सुविधा एकैथलोमा उपलब्ध हुनेछ । यसमा अत्याधुनिक सेवा सुविधासहित स्क्यानर जडान हुने भएकाले राजस्व छली गर्न अप्ठयारो हुन्छ ।

दैनिक अर्बौको मालसामान आयात हुने नेपालतर्फको भैरहवा भन्सारमै पनि पर्याप्त पार्किङको सुविधा छैन । जसका कारण हप्तौसम्म मालबाहक गाडी सडकमै रोकिनुपर्ने बाध्यता छ । निश्चित समयका लागि लिइएका गाडी धेरै दिन सडकमै रोकिनु पर्दा आयातकर्ताले भोग्नुपर्ने आर्थिक क्षति लगायतका अतिरिक्त शुल्क तिर्नुपर्ने बाध्यता हुन्छ । यसले नाकाको आयातलाई खर्चिलो बनाएको छ । यस बाहेक जाम लम्बिदै जाँदा छिटो जाँचपास गरिदिने नाममा हुने अवैध असुलीको समस्या पनि व्यवसायीले भोग्दै आएका छन् ।

भारततर्फ अहिले पनि जग्गा अधिग्रहणको काम टुङ्गिएको छैन । भारततर्फ उत्तरप्रदेश राज्यको महाराजगञ्ज जिल्लास्थित सुनौली र आसपासको केवटलिया, जुगौली र सुक्रौली गाउँको ७७ हेक्टर जमिन आइसिपीका लागि अधिग्रहण गरिने बताइएको छ । जसमध्ये ७० प्रतिशत जमिन अधिग्रहण भइसकेको भनिए पनि जग्गा खाली गराइएको छैन । आइसिपी निर्माणका लागि यहाँका उद्योगी व्यवसायीले धेरैपटक दवाव दिदै आएका छन ।

भैरहवा भन्सारले अहिले अधिग्रहण गरेको ५२ बिगाहामध्ये करिव छ बिगाहा जमिनमा माटो मिलाएर अस्थायी पार्किंङ बनाएर काम चलाउ व्यवस्था गरेको छ । पार्किंङ् अभाबले कतिपय ट्रकहरु भारतीय क्षेत्रमै ३० किलोमिटरसम्म लाइनमा बस्नुपरेकाले नेपाली आयातकर्ताले ढुवानी वापतको अतिरिक्त शुल्क व्यहोर्दै आएको व्यवसायी टानबहादुर पाण्डेले बताए ।

प्रकाशित : १५ माघ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६