दाङ १७ माघ । लुम्बिनी प्रदेशमा १८ वर्षमाथिका ६२ प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । लुम्बिनी प्रदेशमा लक्षित जनसंख्यामध्ये ८४ प्रतिशतले खोपको पहिलो मात्रा र २९ प्रतिशतले खोपको थप मात्रा (बुस्टर डोज) लगाएका लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका अनुसार प्रदेशभर २४ लाख २६ हजार ६ सय ८० जनाले पूर्ण र ३२ लाख ७३ हजार ३ सय ३९ जनाले पहिलो मात्रा खोप र ४५ हजार ४ सय ५० जनाले थप कोभिड विरुद्धको खोप लगाएका छन् ।
प्रदेशमा १२ वर्षमाथिका बालबालिकाका लागि करिब ११ लाख चार हजार ३ सय ५२ खोप आवश्यक रहेको मन्त्रायले जनाएको छ । त्यसमध्ये प्रदेशका विभिन्न जिल्ला तथा प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रहरुमा १० लाख ८३ हजार ४ सय ७७ डोज भ्याक्सिन स्टक रहेको स्वास्थ्य निर्देशनालयका कोभिड फोकल पर्सन कौशलकुमार भण्डारीले बताउनुभएको छ । मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रदेशभर अभियान जारी रहेको बताए ।
यसैबिच प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो ।
१७ माघ २०७८, सोमबार
प्रतिक्रिया