बुटवल १८ माघ।बुद्ध जन्मस्थल लुम्बिनीदेखि चीनको तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरलासम्मको क्षेत्रलाई समेटेर पर्यटकीय कोरिडोर बनाउन अध्ययन थालिएको छ । लुम्बिनी–कोरला कोरिडोरले रुपन्देही, पाल्पा, गुल्मी, स्याङजा, कास्की, बागलुङ, पर्वत,म्याग्दी हुंदै मुस्ताङसम्मका जिल्ला र चीनको तिब्बतसँग जोडिएको कोरला नाकालाई समेट्ने छ । जसले गर्दा चिनिया पर्यटकलाई तिब्बत हुँदै लुम्बिनी आकर्षित गर्न सकिने र लुम्बिनी आउने पर्यटकलाई कोरिडोरमा पर्ने जिल्लाका पर्यटकीय स्थलमा भ्रमण गराई लुम्बिनी र गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्न सकिने कोरिडोरको अवधारणा छ ।
कोरिडोरको विकास गर्न सके कोरलादेखि लुम्बिनीसम्मको सडक यात्रा ५ घण्टाको हुनेछ । कोरिडोर अन्तर्गतका जिल्लाहरुमा पर्यटन, कृषि र जलविद्युतको एकीकृत विकास गरी आर्थिक समृद्धि हासिल गर्न सकिने योजना आयोगको विश्वास छ ।यसका लागि लुम्बिनी प्रदेश योजना आयोगले गण्डकी प्रदेश योजना आयोग, राष्ट्रिय योजना आयोग र पर्यटन बोर्डसंग परामर्श गरिसकेको र थप अध्ययनको काम गरिरहेको आयोगका सदस्य डा. दामोदर भुसालले बताए ।
नेपालका लागि पर्यटन नै सबैभन्दा बढी तुलनात्मक लाभको क्षेत्र भएको र लुम्बिनी–कोरला कोरिडोर यसमा कोशेढुंगा हुन सक्ने देखेर आफूले यो अवधारणा अघि सारेर अध्ययन थालेको आयोगका सदस्य डा.भुसालले बताए । कोरिडोर बनेमा बुद्ध जन्मस्थल लुम्बिनीमा तीब्बतका ८० लाख बौद्धमार्गीलाई सजिलै आकर्षित गर्न सकिने डा. भुसालको भनाई छ ।
१८ माघ २०७८, मंगलबार
प्रतिक्रिया