काठमाडौं २७ माघ : गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्मा बिच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ।
गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचन लक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी) का लागि अत्यावश्यक सवारी साधन र बन्दोबस्तीका सामानबारे कुराकानी भएको नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव डा. भीष्मकुमार भुसालले जानकारी दिए। सहसचिव भूसालका अनुसार अब गृह मन्त्रालयले बिहीवारसम्म चालू तर्फको समेत बजेट यकीन गरेर अर्थ मन्त्रालयमा पठाउने छ।
गृहमन्त्री खाणको पहलमा भएको छलफलमा गृह सचिव टेकनारायण पाण्डे, अर्थसचिव मधु मरासिनीसहित गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, योजना महाशाखा प्रमुख भुसालसहित सम्बन्धित महाशाखाका कर्मचारीहरू सहभागिता थियो।
अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थमन्त्रालयलाई परेको चापबारे अबगत गराउँदै अत्यावश्यक गर्नै पर्ने विषयबारे जानकारी गराउन आग्रह गरेका थिए। गृहमन्त्री खाणले अर्थ मन्त्रालयलाई परेको दवावबारे गृह मन्त्रालय सचेत रहेको भन्दै नभइ नहुने विषयबस्तुबारे अबगत गराइने बताएका थिए।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थ मन्त्रीसँग छलफल गरेका हुन्।
प्रतिक्रिया