काठमाडौँ २७ माघ – केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को लगत प्रशोधनका निम्ति कोडर भर्ती गरेलगत्तै तालिम दिएको छ । उसले यसै साता एक सय जना स्नातकलाई भर्ती गरेलगत्तै बिहीबारबाट तालिम दिएको हो ।
गत मंसिर ९ मा सम्पन्न १२ औं राष्ट्रिय जनगणनाको फाराम कुपन्डोलस्थित विभागको गोदाममा राखिएका छन् । ‘घर तथा घरपरिवार सूचीकरण,’ ‘मुख्य प्रश्नावली’ र ‘सामुदायिक प्रश्नावली’ गरी तीन किसिमका लगत फाराम छन् । मुख्य प्रश्नावलीमा ठूलो र सानो बुक छन् । प्रत्येकको भित्र उल्लेख गरिएका घरमूली, परिवार संख्या, व्यक्तिगत विवरण, नाता, उमेर, लिंग, वैवाहिक स्थिति, घरको किसिम, घरमा उपलब्ध सेवा सुविधालगायत विवरण छन् ।
‘तालिम सकिएलगत्तै फागुनबाट कोडिङको काम सुरु हुन्छ,’ विभागका निर्देशक ढुण्डीराज लामिछानेले भन्नु भयो , ‘देशभरिबाट संकलित लगतमा भएका त्रुटि केलाउने काम हुनेछ ।’ कोडरले प्रतिफाराम (एक परिवार) कोडिङ गरेबापत ५ रुपैयाँ पारिश्रमिक पाउने छन् । कोडरले बिहान र दिउँसो गरी दुई सिफ्टमा काम गर्ने छन् ।
निर्देशक लामिछानेका अनुसार कक्षा १२ उत्तीर्ण गरेका तीन सय जनालाई ‘डाटा इन्ट्री अपरेटर’ का रूपमा छनोट गरी नामावली प्रकाशन गरिएको छ । उनीहरूको अन्तर्वार्ता र कम्प्युटरको प्रयोगात्मक सीप परीक्षण बाँकी छ । फागुन दोस्रो साताबाट कोडरले कोडिङ गरेका लगतलाई कम्प्युटरमा इन्ट्री गराइनेछ । अपरेटरले त्यसबापत प्रतिअक्षर (कि स्ट्रोक) तीन पैसाका दरले पारिश्रमिक पाउने छन् । लगत प्रशोधनका निम्ति थापाथलीस्थित विभागको कार्यालय हाताभित्र छुट्टै भवनमा कम्प्युटर प्रविधि सञ्जाल विस्तार गरिएको छ । विभागले दुई साताअघि सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको २०७८ को प्रारम्भिक नतिजाअनुसार देशको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ ।
प्रतिक्रिया