काठमाडौं २७ माघ – सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट –एमसीसी अनुमोदन गर्नुपर्ने निश्कर्ष निकालेको छ ।बिहीवार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी देशको पक्षमा रहेको निश्कर्ष निकालेको नेता डा। शशांक कोइरालाले जानकारी दिनु भयो ।
बिहीवारको बैठकमा प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाले एमसीसीबारे प्रष्ट पार्न पूर्व अर्थमन्त्री डा। रामशरण महतलाई आग्रह गर्नु भएको थियो । महतले एमसीसी राम्रो अनुदान भएकोले गुमाउन नहुने धारणा राखेका थिए । देउवाले सरकार एमसीसी अनुमोदनको पक्षमा रहेको बताउनु भएको थियो ।
‘एमसीसी विद्युत र बाटोको लागि हो भनेर जनमानसमा भन्नुपर्छ र अनुमोदन गर्नुपर्छ भन्ने निश्कर्ष छ,’ कोइरालाले भन्नु भयो । उहाँले गठबन्धन टुट्ने या कायम रहने भन्दापनि एमसीसी पारित गर्नुपर्ने कुरा उठेको बताउनु भयो ।
पूर्व महामन्त्री कोइरालाले स्थानीय तह चुनावमा कांग्रेस एक्लै लड्नु पर्ने बताउनु भएको थियो । ‘गठबन्धनको विषयमा मैले कुरा राखे, हामीले आफ्नो अस्तित्व जोगाउनु पर्छ भन्ने कुरा गरे । मेरो कुरामा धेरैको सहमति छ,’ कोइरालाले भन्नु भयो ।
बैठकमा स्थानीय तहको चुनाव, भातृ संगठनको अधिवेशन लगायतको विषयमा कुरा भएको थियो । केही भातृ संगठनको अधिवेशन स्थानीय तहको चुनाव अगावै गर्ने सहमति भएको उहाँले बताउनु भयो ।
प्रतिक्रिया