रुपन्देही २ फागुन ।रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश गरेका छन् । नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले सोमबार रोहिणी–३ स्थित धकधईमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उनीहरू एमालेमा प्रवेश गरेका हुन् । रोहिणी गाउँपालिकाका अध्यक्ष यादव यसअघिको स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरम, नेपालबाट निर्वाचित भएका थिए ।त्यस्तै ओमसतियाका अध्यक्ष राहुल नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए ।
यसैगरी, उपाध्यक्ष सुन्दरमति हरिजन, माओवादी केन्द्र रोहिणीका अध्यक्ष प्रदीपकुमार पाण्डेय, ओमसतियाका अध्यक्ष गोविन्द केवट पनि एमालेमा प्रवेश गरेका छन् । ओमसतिया उपाध्यक्ष हरिजन यसअघिको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट ओमसति गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । उनीहरूलाई एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, सचिव छविलाल विश्वकर्मा, पोलिटब्युरो सदस्य लिला गिरी, दधिराम न्यौपाने लगायत नेताले पार्टीमा प्रवेश गराएका थिए ।
प्रतिक्रिया