काठमाण्डौ, ३ फागुन । पूर्व अर्थ मन्त्री तथा नेपाली कांग्रेसका नेता डा.रामशरण महतले अमेरिकी सहयोग एमसीसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताउनुभयो । आज मङ्गलवार नयाँ बानेश्वमा रहेको संसद् भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले एमसीसीको बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोपसमेत लगाउनुभयो ।
नेता महतले एमसीसी पारित गरेमा राष्ट्रको आर्थिक वृद्धि हुने, रोजगारीका अवसरहरू बढ्ने र पूर्वाधारको विकास हुने पनि बताउनुभयो । उहाँले एमसीसीको बारेमा अमेरिकी सेनासँग सम्झौता हुने लगायतका भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसीसी नेपालको कानुनअनुसार सम्झौता गरिएको बताउनुभयो । उहाँले बीआरआई र इन्डोप्यासिफिक रणनीतिसँग एमसीसीको कुनै सम्बन्ध नरहेको बताउनुभयो ।
नेता महतले एमसीसी सहयोग कुनै पनि देशको हित विपरीत नभएको दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘एमसीसी राष्ट्रको हितमा छ । यसलाई गलत चर्चा, गलत आलाचना गरेर, झुटको आलोचना गरेर भ्रमपूर्ण आलोचना गरेर यसलाई रोक्नु राष्ट्रको हित विपरीत हुन्छ । अमेरिका जस्तो शक्तिशाली राष्ट्र र नेपाललाई सबैभन्दा बढी सहयोग गर्ने देशसँग सम्बन्ध बिगार्ने काम बिल्कुलै गर्नु हुँदैन । एमसीसी यही बैठकबाट पारित हुनुपर्छ । फागुन १६ गतेभित्र पारित भएन भने सहयोग नहुन पनि सक्छ । अरू देशमा जान सक्छ भनेर उनीहरूले भनिरहेका छन् । एमसीसी कुनै पनि हालतमा पारित गर्न जरुरी छ । यसमा गलत खालका आलोचनाहरू गरेका छन् । मिलिट्री सम्झौता हुन्छ, अमेरिकी सेना आउँछ भन्ने त्यो सरासर गलत हो । यो इन्डोप्यासिफिक रणनीति अन्तर्गत पनि होइन । नेपालको कानुन विपरीत पनि छैन । दुई देशको बीचमा सहमतिअनुसार भएको सम्झौता कानुनअनुसार नै हो । एमसीसीले हस्तक्षेप गर्छ यता उति भन्ने छ त्यो सम्भावना छैन । यसमा इन्टेलिजेन्ट प्रपर्टी राइट बौद्धिक सम्पत्तिको अधिकार पनि नेपालको नै छ । आरोपहरू भ्रमपूर्ण छन् । यो अमेरिकासँग सम्बन्ध बिगार्न भएको प्रयास हो ।’
प्रतिक्रिया