काठमाण्डौ, १५ फागुन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले सर्वसाधारणलाई शेयर निष्कासन गर्ने विषयमा छलफल भइरहेको बताउनुभएको छ ।
आज आइतवार काठमाण्डौमा भएको कार्यक्रममा बोल्दै उहाँले सरकारको स्वीकृतिमा प्राधिकरण ऐनमा भएको व्यवस्थाअनुसार सर्वसाधारणलाई शेयर निष्कासन गर्ने विषयमा पनि छलफल भइरहेको बताउनुभयो ।
‘विगतमा प्राधिकरण वार्षिक घाटा र सञ्चित नोक्सानीमा थियो, अब सबै वित्तीय सूचकाङ्कहरूमा उल्लेख्य सुधार आइसकेको छ, क्रेडिट रेटिङबाट पनि प्राधिकरणमा लगानी सबै हिसाबाट सुरक्षित रहेको विश्लेषण गरिएको छ, अब ऐनमा भएको व्यवस्थाअनुसार शेयर निष्कासन गर्न सरकारसँग सहमति लिएर प्रक्रिया अगाडि बढाउछौँ’, घिसिङले भन्नुभयो ।
ऐनमा प्राधिकरणको शेयर पुँजी नेपाल सरकारले तोक्ने व्यवस्था छ । प्राधिकरणले निष्कासन गरेको शेयरमध्ये नेपाल सरकारले खरिद गरी बाँकी रहेको शेयर मात्र सर्वसाधारणलाई बिक्री गरिने व्यवस्था रहेको छ ।
सरकारले विद्युत् प्राधिकरणको दोस्रो वित्तीय पुनर्संरचनाअन्तर्गत शेयर निष्कासनका लागि सहमति दिइसकेको छ ।
प्रतिक्रिया