काठमाडौं१५ फागुन । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनाल, नेकपा माओवादीका केन्द्रका गिरिराजमणि पोखरेललगायतका केहि सांसदले एमसीसी सम्झौता प्रस्ताव निणर्यार्थ प्रस्तुत हुने बेलामा संसद् बैठक बहिष्कार गर्ने भएका छन् ।
सैद्धान्तिक छलफलमा भाग लिएर सांसदहरुलाई एमसीसी अनुमोदनको विपक्षमा उभिन आग्रह गरेका पूर्व प्रधानमन्त्री खनालले व्याख्यात्मक टिप्पणीको कुनै कानूनी र अन्तर्राष्ट्रिय मान्यता नहुने भन्दै मतदान बहिष्कार गर्ने बताए । त्यस्तै नेकपा एसका गिरिराजमणि पोखरेल, अञ्जना विशुंखेलगायत सांसदहरु पनि बहिष्कारको तयारीमा छन् । नेकपा एसका केही सांसदले झलनथालाई साथ दिने भने पनि उनीहरुको नाम सार्वजनिक भएको छैन ।
संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै खनालले व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट एमसीसी पारित गर्न लागिएपछि बैठकमै नबस्ने निणर्य लिएको बताएका छन् । उनले पार्टी स्थायी कमिटी बैठकमा एमसीसीबारे सर्वसम्मत निणर्य नभएको समेत जानकारी दिए ।
‘व्याख्यात्मक घोषणा भनेको के हो ? कुन अन्तर्राष्ट्रिय कानुनअन्तर्गत हुन्छ ? यसको वैधानिकता के हुन्छ ?,’ उनले प्रश्न गरे, ’अमेरिका र एमसीसीले मान्छ भन्ने सुनिश्चितता के छ ?’ खनालले अगाडि भने, ‘अमेरिकाले मान्ने कुराको सुनिश्चितता नभइकन व्याख्यात्मक घोषणाको आधारमा यो मत विभाजन हुँदैछ । यसमा भाग लिन्न ।’
नेता खनालले राजनीतिक दलका शीर्ष नेताहरुले एमसीसीमा अमेरिकालाई मनाउनका लागि खुट्टा नटेकेको आरोप पनि लगाएका छन् । उनले संसद् बैठकमा एमसीसी सम्झौताको सामान्य छलफलका क्रममा एमसीसी संशोधन नगरिकन अनुमोदन गर्न नहुने अडान दोहोर्याएका थिए । आफूहरू एमसीसी ग्रहण गर्ने पक्षमा रहेको तर यथास्थितिमा अनुमोदन गर्न नहुने उनले बताएका हुन्








प्रतिक्रिया