प्रदेश

मृत्युपछि भएपनि अंग दान गरौं पुण्य कमाऔंः स्वास्थ मन्त्री



काठमाण्डौं, २६ फागुन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मृत्यु पश्चातको अंग दान गर्न आग्रह गरेका छन् । बिहीवार विश्व मृगौला दिवसको अवसरमा विभिन्न संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको प्रभात फेरि लगायतका कार्यक्रममा भाग लिदै मन्त्री खतिवडाले मृत्युपश्चात अंग दान गर्न सबैलाई आग्रह गरेका हुन् ।

मृत्यू पश्चातको अंग दान गरेमा मृगौला पीडितहरुले पनि धेरै सुविधा पाउने उनले बताए । मन्त्री खतिवडाले पहिले मृगौला दान गर्न पाउने समुह साँघुरो भएको उल्लेख गर्दै हाल सरकारले सो समूहलाई ठूलो बनाएको बताए । नाता पर्ने जति सबैले मृगौला दान गर्न सक्ने उनले स्पष्ट पारे ।

उनले भने, ‘मृगौला पीडितले आफुलाई मृगौला दिने, म्याच गर्ने मान्छेहरूको खोजी गर्न नसक्नाले पनि केही मान्छेहरु उपचारबाट वञ्चित भएको देखिएको हो । अहिलेसम्म हामीले नेपाल सरकारको तर्फबाट मृगौला खोजेर गरिदिने भन्ने परिस्थितिमा हामी छैनौँ । पहिला कानून साँघुरो थियो, फेरी यसलाई दुरुपयोग पनि भएको हुनाले हामीले कानून बनाउनु परेको हो । अहिले दान गर्न पाउने सर्कललाई हामीले ठुलो बनाएका छौँ । नाता पर्ने जति सबैले पाउँछ । हामीले मृत्यू पश्चातको अंग दान पनि गर्न सक्छौँ । मृत्यु पश्चातको अंग दान गर्न सक्यौँ भने अझ मृगौला पीडितहरुले धेरै सुविधा पाउन सक्नुहुन्छ ।’

मन्त्री खतिवडाले मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरु पनि मृगौला नफेरेका व्यक्तिहरु जस्तै स्वस्थ हुनसक्ने भन्दै आत्तिनु नहुने बताए । मृगौला प्रत्यारोपण गरेका व्यक्तिहरुले चिन्तित भएर आफुलाई कमजोर बनाउनु नहुने उनको भनाई छ । उनले भने, ‘मृगौला दान गर्दा पनि समस्या हुँदैन । मृगौला फेरेको मान्छे पनि स्वस्थ हुन्छन् । त्यसकारण हामी मनबाट, अनेक हिसाबबाट आत्तिनु पर्दैन । दुईवटा मध्ये हामीले एउटा दान गर्दा पनि हाम्रो शरिरमा त्यति ठुलो समस्या आउँदैन र मृगौला फेरेको मान्छेहरुले पनि आफुलाई मन कमजोर बनाएर म बिरामी छु, मेरो मृगौला फेरेको छ भनेर चिन्तित हुनुपर्दैन । अन्य स्वस्थ मानिसजस्तै अथवा अन्य मृगौला नफेरेका मानिसजस्तै मृगौला फेरेको मान्छे पनि उत्तिकै स्वस्थ हुन्छन् र जीवनमा त्यत्तिकै योगदान गर्न सक्छन् । काम गर्न सक्छन् । सिर्जनात्मक सोँच अनुसार अगाडी बढ्न सक्छन् ।’
१० मार्चको दिन मनाइने विश्व मृगौला दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६