प्रदेश

पहिलो प्रयासमै नेपाली सेनाले पायो स्वर्ण पदक



काठमाण्डौ, २९ फागुन । नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’ मा स्वर्ण पदक जित्न सफल भएको छ । जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि एक सय किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगिता सबैभन्दा पहिले पूरा गरी नेपाली सेना स्वर्ण पदक जित्न सफल भएको थियो ।

प्रतियोगितामा प्रमुख सेनानी सुधीर केसी, सहसेनानी पवन खत्री, उपसेनानी अनमोल प्रसाईं, जमदार राजकुमार सारु मगर, हुद्दाद्वय कृष्ण गुरुङ र मानकाजी तामाङ, प्युठ मनोज थापा, निकराज गुरुङ, युवीन अमगाईं, कपिल लामा र सिपाही अशोकबहादुर बम सहभागी हुनुहुथ्यो । नेपाली सेनाले त्यो प्रतियोगितामा पहिलो पटक भाग लिएको हो ।

प्रतियोगितामा भाग लिनुअघि सेनाले पूर्वतयारी स्वरूप विभिन्न गण र गुल्मबाट छानिएका सकल दर्जालाई चार हप्ताको तालिम प्रदान गरेको थियो । प्रतियोगितामा नेपाल, श्रीलङ्का, केन्या, मोरक्को, उज्वेकिस्तान, टर्की, जोर्डन, साउदी अरेबियालगायतका देशका सेना सहभागी थिए । पहिलो प्रयासमै अब्बल नतिजा हासिल गर्नुमा नेपाली सेनाको व्यावसायिकता, पेसागत दक्षता, दृढ सङ्कल्पसहितको अठोटले ठूलो बल पुर्‍याएको हो ।

प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित समारोहमा प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली टोलीमा सहभागी अधिकृत, पदिक र अन्य दर्जालाई ‘प्रधान सेनापति प्रशंसा पदक’ प्रदान गर्नुभयो ।

कार्यक्रममा सैनिक तालिम महानिर्देशक सीताराम खड्काले प्रतियोगितामा सहभागी नेपाली सैनिक टोलीले नेपाल र नेपालीको गौरव र प्रतिष्ठा बढाउने काम गरेको भनी प्रशंसा गर्नुभयो । (रासस)

प्रकाशित : २९ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६