काठमाण्डौ, १९ चैत्र । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले मलेसियालाई दुई सय २४ रनको लक्ष्य दिएको छ ।
आज शनिवार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २३ रन बनायो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५७ बलमा ६ छक्का र १० चौकाको मद्दतमा नटआउट एक सय १० रन बनाए । यस्तै रोहित पौडेलले ५१ रन बनाए ।
दीपेन्द्रको यो पहिलो टी–२० अन्तर्राष्ट्रिय शतक हो । योसँगै उनी नेपालबाट टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने चौथो खेलाडी हुन् । यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका थिए ।
बलिङतर्फ मलेसियाका मुहम्मद वकिफ, पवनदीप सिंह, स्याज्रुल इद्रुस र मुहम्मद आमिरले एक–एक विकेट लिए ।
आजको खेल मलेसियाका लागि महत्वपूर्ण छ । आजको खेल जिते मलेसिया चार अङ्कसहित फाइनलमा पुग्ने छ भने पराजित भएमा पपुवा न्युगिनी (पीएनजी) फाइनलमा पुग्नेछ । नेपाल भने लगातार तीन खेल जित्दै फाइनल पुगिसकेको छ । नेपाल ६ अङ्कसहित शीर्ष स्थानमा छ भने समान दुईरदुई अङ्क रहेका पीएनजी दोस्रो स्थानमा र मलेसिया तेस्रो स्थानमा छ ।
प्रतिक्रिया