काठमाडौँ, २३ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि छापिएका मतपत्र आज सबै जिल्लामा पुग्ने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले आवश्यक सम्पूर्ण मतपत्र छपाइको काम सकिएको र ती मतपत्र आज सबै जिल्लामा ढुवानी गरिसक्ने जानकारी दिनुभयो ।
आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका छन् । मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ । त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु छन् ।
देशभरका ७५३ पालिकाका जनप्रतिनिधि चुन्न यही वैशाख ३० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ । आयोगले मतदान कार्यमा खटिएका सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य रुपमा आफू खटिएका ठाउँमा अबिलम्व जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिइसकेको छ ।
प्रतिक्रिया