बुटवल, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते हुने निर्वाचनबाट एमालेको विजयी यात्रा सुरू हुने बताएका छन् । बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘अलच्छिनी परमादेशी सरकार’को संज्ञा दिए । बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एमाले पञ्चमुखी गठबन्धन जस्तो नभएको बताए। पाँच दलीयमात्र नभइ १० दल मिले पनि एमालेलाई फरक नपर्ने उनको धारणा थियो । विगतमा जस्तै बुटवललाई लालकिल्ला कायम राख्न उनले आह्वान समेत गरेका छन् । ओलीले गठबन्धनका नेताहरूको धम्कीले सचेत जनता नतर्सिने बताएका छन् ।
ओलीले सत्तारूढ गठबन्धन चुनाव हार्ने डरले धाकधम्कीपूर्ण अभिव्यक्तिमा उत्रिएको बताए । उनले कसैले धम्काउँदैमा र तर्साउँदैमा विचलित नहुन आग्रह गर्दै निर्धक्क भएर एमालेको सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे । ओलीले अहिलेको गठबन्धन कुनै विचार, सिद्धान्त र उद्धेश्यका लागि नभई सत्ता स्वार्थका लागि मात्र भएको दाबी गरे । उनले देशभरका स्थानीय तहको निर्वाचनबाट एमालेको विजय मात्र नभई दिग्विजयको यात्रा सुरू हुने दाबी गरे ।
एमालेले चुनाव हारे जनताले पाउने सेवा सुविधा र विकास निर्माणका सबै योजना रोकिने भन्दै एमालेको विजय अपरिहार्य रहेको बताए । ओलीले २० वर्ष सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले विकास निर्माणका कुनै आयोजना अघि नबढाएको बरू ४२ वटा उद्योग बेचेर खाएको आरोप लगाए । अघिल्लो सरकारले सुकुम्बासीलाई लालपुर्जा वितरण गर्न थाल्दा सरकार ढालेर भूमिहीन आयोग समेत खारेज गरी लालपुर्जा वितरण गर्ने काम अलपत्र पारेको ओलीले बताए । ओलीले थपिएका नयाँ मतदातालाई एमालेले गरेको विकास र युवाहरूको पक्षमा गरेको कामलाई हेरेर एमालेलाई रोज्न आग्रह गरे ।
युवादेखि वृद्धसम्म र किसानदेखि मजदुरसम्मको हित चिताउने पार्टी भएकाले कुनै अलमलमा नपरी एमालेलाई मतदान गर्न उनले आग्रह गरे । गठबन्धनलाई स्याल र एमालेलाई शेरको संज्ञा दिएका ओलीले १० वटा स्यालको समूहलाई एउटै शेरले पाखा लगाइदिने बताए ।
प्रतिक्रिया