चितवन – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको टिप्पणी गर्नुभएको छ ।
आज आइतवार चितवनकाे भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले पार्टी सिद्धिने अवस्थामा पुग्दा पनि कांग्रेस कार्यकर्ताहरू के हेरेर बसेका छन् भनी प्रश्नसमेत गर्नुभयो । उहाँले कांग्रेस कार्यकर्ताहरू प्रचण्डका छोरी रेणु दाहाललाई फेरि पनि भोट हाल्नु परेकोमा पीडामा रहेको पनि जिकिर गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘कांग्रेसका नेताहरूले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन् । के हेरेर बसेका छन् कार्यकर्ता, नेताहरू ? पार्टी त सिद्धियो कांग्रेसको । एक जना नेताले चितवनका जनताले मेरी छोरीलाई खुरुक्क भोट हालेर जिताएनन् भने देश दुर्घटना हुन्छ भने । रुखवाला साथीहरूले खुरुखुरु राजीखुसीले हँसिया हथाैडामा भोट हाल्दैनन् भने दुघर्टना हुन्छ । थपक्क भोट हालेर मेरी छोरी जिताए भने म खुसी हुन्छु । उत्साहित हुन्छु । १०, १५, २० वर्ष गठबन्धन टिकाइ दिन्छु । धम्क्याएको हेर्नुहाेस् त ।’
प्रचण्डले केही दिनअघि भरतपुर पुगेर आफ्नी छोरीलाई मत हाल्न कांग्रेस कार्यकर्तालाई धम्क्याउने काम गरेको भन्दै ओलीले निर्वाचन आचारसंहिता विपरीत हुने गरी यसरी धम्क्याउन नपाउने तर्क गर्नुभयो । उहाँले प्रचण्डले सृजना सिंहको र प्रधानमन्त्री देउवाले रेणु दाहालको मत मागेर हिँडिरहेका बेला फरक दलको प्रचार नगर्न भनी निर्वाचन आयोगले भने पनि कारबाही भने गर्न नसकेको आरोप लगाउनुभयो ।
अध्यक्ष ओलीले कांग्रेस नेताहरूले जसलाई भोट मागे पनि हुने तर कार्यकर्ताहरूले त्यसो गरे कारबाही गर्छु भन्न नमिल्ने पनि बताउनुभयो ।
कार्यक्रममा बोल्दै राप्रपाका नेता विक्रम पाण्डेले राष्ट्रवादी शक्तिहरूबीच एकताबद्ध हुनुपर्ने अवस्था आएकाले चितवनमा आफ्नो पार्टी र एमालेबीच पालिका चुनावमा सहकार्य गरेर अघि बढ्नुपरेको बताउनुभएको थियो ।
प्रतिक्रिया