कपिलवस्तु २६ बैशाख : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कपिलवस्तुमा ४ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् । निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए । निर्वाचन सुरक्षा योजनाअनुसार जिल्लाभरि १ हजार ९ सय २६ म्यादी प्रहरी, १ हजार २ सय ८२ नेपाल प्रहरी, ४ सय ७० सशस्त्र प्रहरी, ४ सय ५५ नेपाली सेना परिचालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार राष्ट्रिय अनुसन्धानबाट १८ जना समेत गरि ४ हजार एक सय ५१ जना निर्वाचनको सुरक्षाका लागी खटाईएको छ । म्यादी प्रहरी र नेपाल प्रहरीलाई मतदान केन्द्रसम्म परिचालन गरिएको छ ।
प्रत्येक स्थानीय तहमा प्रहरी र सशस्त्र प्रहरीले पेट्रोलिङ (गस्ती) समेत गरिरहेको छ । कपिलवस्तुमा २ सय ३५ ओटा मतदानस्थल र ४ सय ६८ मतदान केन्द्र रहेका छन् । यीमध्ये सुरक्षाको दृष्टिकोणले २० ओटा मतदानस्थल अति संवेदनशीलको सूचीमा रहेका छन् । जिल्लाका ३४ मतदानस्थल संवेदनशील र ६५ ओटा मतदानस्थल कम संवेदनशील सूचीमा रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
सबै ठाउँमा निर्वाचन सुरक्षाका लागि भरपर्दो व्यवस्था गरिएकाले ढुक्क भएर मतदान गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
प्रतिक्रिया