कास्की २६ बैशाख – पार्टीको नीतिप्रति असहमति जनाउँदै पालिका चुनावमा पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिनुभएका कांग्रेस नेता विमलबहादुर कार्कीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएकाे छ । उम्मेदवारी फिर्ता लिएसँगै उहाँले गठबन्धनबाट मेयर पदमा उठेका धनराज आचार्य र नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने बताउनुभएकाे छ ।
कार्कीले आज साेमवरा प्रेस विज्ञप्ति निकालेर पार्टीले उम्मेदवारी फिर्ता गर्नका लागि दिएको निर्देशन मान्दै आफ्नाे उम्मेदवारी निष्क्रिय भएको उल्लेख गर्नुभएकाे छ । ‘साथीभाइको सल्लाह र अग्रज नेताहरूको आग्रहलाई मान्दै मैले नेपाली कांग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु’, प्रेस विज्ञप्तिमा उहाँले लेख्नुभएकाे छ, ‘मेरो उम्मेदवारी आजैदेखि निष्क्रिय भएको छ ।’
यसैबीच नेपाली कांग्रेस कास्कीले पनि उम्मेदवारी फिर्ता लिएकाे भन्दै नेता विमलबहादुर कार्कीलाई धन्यवाद ज्ञापन गरेको छ । पार्टीभित्र असन्तुष्टि भए पनि आन्तरिक रूपमा मिलाउने र गठबन्धनका उम्मेदवारलाई जिताउने गरी कार्कीले उम्मेदवारी फिर्ता लिएकोमा आफू निकै खुसी भएको कांग्रेस कास्कीका सभाापति किशोरदत्त बरालले बताउनुभयाे ।
गठबन्धनको साझा उम्मेदवारलाई बागी उम्मेदवारकै कारण भोट काटिने चिन्ता पनि अब हटेको कास्की कांग्रेसले बताएको छ । पोखरा १४ घर भएका कांग्रेस नेता कार्कीले गठबन्धनका उम्मेदवारलाई सघाउने भएपछि पोखरा महानगरको चुनाव जित्न गठबन्धनलाई अझै बढी सजिलो भएको कांग्रेस कास्कीको बुझाइ छ ।
प्रतिक्रिया