काठमाडौं, १५ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प रहेको बताउनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रचण्डले देशको परिवर्तन र अग्रगमनसहित संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न वर्तमान वाम–लोकतान्त्रिक गठबन्धन एक भरपर्दो विकल्प रहेको बताउनुभएको हो ।
नेपालको राजनीतिक इतिहासमा विभिन्न राजनैतिक विचार र प्रवृत्तिहरू बीचका संघर्ष, सहकार्य र रूपान्तरणको प्रक्रियाबाट ठूलाठूला राजनैतिक परिवर्तन सम्भव भएको उल्लेख गर्दै प्रचण्डले आजको दिन सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशील र लोकतान्त्रिक शक्तिहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, विकास र सुदृढीकरणका लागि एकताबद्ध भई अघि बढ्न अपिलसमेत गर्नुभएको छ । प्रचण्डले गणतन्त्र दिवस २०७९ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ।
१० वर्षे ‘जनयुद्ध’, संयुक्त जनआन्दोलन, मधेस आन्दोलन लगायतका आन्दोलनका क्रममा गणतन्त्र प्राप्तिका लागि आफ्नो प्राणको आहुति दिने सहिदहरुमा श्रद्धाञ्जली व्यक्त गर्दै उहाँले आन्दोलनको क्रममा बेपत्ता र घाइते योद्धाहरुमा सम्मान व्यक्त गर्नुभएको छ।
प्रतिक्रिया