प्रदेश

घोराही र तुलसीपुरमा पूर्ण मतभन्दा उम्मेदवारको मत धेरै बदर




जेष्ठ १८ तुलसीपुर : गत वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा गाउँपालिकामा भन्दा उपमहानगरका धेरै मत बदर भएको छ। थोरै मात्रामा पूर्णरूपमा बदर भए पनि धेरै मात्रामा मेयर र उपमेयरका लागि बदर भएका हुन्।
तुलसीपुरमा मात्र पूर्ण रूपमा १ हजार ३४८ मत बदर भएका थिए भने मेयरका लागि ११ हजारभन्दा बढी र उपमेयरका लागि करिब १७ हजार मत बदर भएका थिए। तुलसीपुर उपमहानगरपालिकामा खसेको जम्मा मत ७४ हजार ३३६ खसेको थियो। त्यस्तै तुलसीपुर १२ मा हजार ५६५ मत खसेकोमा वडाध्यक्षमा सदर मत ३ हजार ९४१ थियो भने ६२४ मत बदर भएको थियो।
त्यस्तै घोराहीमा पनि अवस्था उस्तै रहेको थियो। पूर्णरूपमा भन्दा पनि प्रमुख र उपप्रमुखको मत बदर हुँदा निर्वाचन अधिकृतदेखि उम्मेदवार र मतदाता पनि केही मतदाता शिक्षाको कमी र मतपत्र जटिल हुँदा पनि भएको बताउँछन् भने केही जानी जानी पनि गरेको हुनसक्ने उनीहरूको भनाइ छ।
घोराहीमा ७६ हजार २४२ मत खसेकोमा ६५ हजार ८३८ मत सदर भएको थियो भने करिब साढे १० हजार मेयर पदका लागि र उपमेयरका लागि १० हजारभन्दा बढी मत बदर भएको थियो।
तुलसीपुर उपमहानगर–१६ की निर्मला डाँगीले मतदाता शिक्षाको कमीले गर्दा नै मत बदर भएको बताइन्। उनका अनुसार गाउँ घरमा ज्येष्ठ नागरिकले मतपत्रमा लेखेका कुरा पढ्ने नजान्ने भएकाले पनि उनीहरूलाई मतदाता शिक्षा आवश्यक हुन्छ तर योपटकको स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षा दिइएको पाइएन।
त्यस्तै उनले निर्वाचन आयोगले मतदाता शिक्षा नदिएको भएयता पनि उम्मेदवारले गाउँटोलमा गएर चुनाव चिह्नबारे जानकारी दिएको भए पनि त्यसमा कमी हुने बताइन्। त्यस्तै उनले कतिपय कुरामा मतदाताले नियतवश बदर गर्ने गरेको पनि उल्लेख गरिन्।
त्यस्तै अर्का दोर्णबहादुर खत्रीले भने केही मतदाता शिक्षाको कमी र अर्को गठबन्धन हुँदा मतदाताले चुनाव चिह्न थाहा नपाउँदा पनि बदर भएको बताए। उनले भने, ‘पहिला मतदाता शिक्षा पनि हुन्थ्यो। त्यस वेला मत बदर कम हुन्थ्यो तर अहिले मतदाता शिक्षा पनि भएन। मतपत्र पनि ठूलो र गठबन्धन हुँदा धेरै दलका उम्मेदवारलाई भोट दिनुपर्ने अवस्था थियो। जसले गर्दा नै मत बदर भएको हो।’
उनले पनि कतिपय मतदाताले उम्मेदवारहरू मन नपराउँदा सबैलाई भोट दिँदा नै बदर भएको आफूले देखेको बताए। उनले अझै पनि मतदातालाई शिक्षा दिन आवश्यक रहेको र दलहरूले पनि राम्रा उम्मेदवारलाई टिकट दिनुपर्ने अवस्था आएको उल्लेख गरे।
मतदातालाई मात्र नभई पार्टीका नेताहरूलाई पनि मतदाता शिक्षाको कमीले गर्दा अहिलेको निर्वाचनमा मत बदर भएको बताउँछन्। नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले पनि तुलसीपुरका धेरै वडामा मतहरु बदर भएको बताइन्।
उनले भनिन्, ‘मत गणना हुँदा मैले पनि केही वडाको हेर्ने अवसर पाएकी थिएँ तर ती वडामा धेरै मत बदर भएको देखेँ। यसरी मत बदर हुनुका कारण पहिलो त मतपत्रको कारण हो। त्यसपछि धेरै उम्मेदवार उठेको हुँदा र गठबन्धनले गर्दा पनि कुन उम्मेदवारको चिह्न कुन हो ? भनेर थाहा नपाउँदा मत बदर भएको हो। त्यसको लागि मतदाता शिक्षाको कमी भए जस्तो लाग्यो।’
त्यस्तै केही प्रतिशत मतदाताले भने जानी जानी मत बदर गरेको हुनसक्ने उनको भनाइ थियो। उनले अझै पनि मतदातालाई शिक्षा दिन आवश्यक रहेको औँल्याइन्। घोराही उपमहानगरमा करिब ११ सय पूर्ण रूपमा मत बदर भएको थियो। यसरी मत बदर हुनुमा मतदाता शिक्षाको कमीले गर्दा भएको घोराहीका मेयर नरुलाल चौधरीले बताए।
उनका अनुसार मतदाता शिक्षामा निर्वाचन कार्यालय, राजनीतिक दलहरूको भूमिका कमी हुँदा यस्तो भएको हो। त्यस्तै उनले मतदाताले क्रसमत गर्दा बदर भएको भन्दै त्यो गठबन्धनका कारण भएको पनि बताए। उनले भने, ‘सूर्य चिह्नमा भोट हालेको मतमा बदर कम भएको छ तर फरक फरक चिह्नमा भोट हाल्दा मत बदर भएको पाइयो। त्यसैले गर्दा दलले पनि यसमा ध्यान दिनुपर्छ।’

प्रकाशित : १८ जेष्ठ २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६