बाँके, जेठ १८ ।
लुम्बिनी प्रदेशमा नयाँ शैक्षिक सत्र सुरु भए पनि पाठ्यपुस्तकको अभावमा पठनपाठन नियमित हुन सकेको छैन । लुम्बिनी प्रदेशका दाङ, सल्यान, रोल्पा, पूर्वीरुकुम, पश्चिम रुकुम, बाँके र बर्दियामा पाठ्यपुस्तकको अभावमा शैक्षिक गतिविधि सञ्चालनमा समस्या देखिएको छ ।
पुस्तक वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र नेपालगञ्जका प्रमुख रवीन्द्र शर्माले तीनवटा कक्षाका सम्पूर्ण सेट प्राप्त नभएका कारण विद्यालयमा सम्पूर्ण पुस्तक पठाउन नसकिएको बताउनुभयो ।
जनक शिक्षाले एजेन्सीमार्फत विद्यालयमा पुस्तक वितरण गर्दै आएको छ । जनक शिक्षाका अनुसार कक्षा ५ को नेपाली र गणित, कक्षा ६ को नेपाली, अङ्ग्रेजी र स्वास्थ्य तथा कक्षा ७ को विज्ञान र नेपाली विषयको पाठ्यपुस्तक अभाव छ । हालसम्म करिब २५ हजार सेट पाठ्यपुस्तक एजेन्सीमार्फत विद्यार्थीको हातमा पु–याइसकेको जनक शिक्षाले जनाएको छ ।
प्युठान भने जनक शिक्षाको बुटवलस्थित कार्यालयको जिम्मेवारीमा पर्दछ । बाँके र बर्दियामा धमाधम पाठ्यपुस्तक पु–याउने कार्य भइरहेको छ । कक्षा ५, ६ र ८ का छुटेका विषयका पुस्तक असार १५ भित्र आइपुग्ने केन्द्र प्रमुख शर्माले जानकारी दिनुभयो ।
यस वर्ष स्थानीय तहको निर्वाचनका लागि करिब दुई करोड मतपत्र छाप्नु परेकाले पाठ्यपुस्तक छपाइ कार्य प्रभावित भएको हो । यसबाहेक कागजको जिम्मेवारी पाएको फर्मले रुस–युक्रेन युद्धलाई कारण देखाउँदै समयमै पर्याप्त कागज उपलब्ध गराउन नसकेका कारण पनि समयमै पुस्तक छाप्न नसकिएको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।
प्रतिक्रिया